पाँच वर्ष अगाडी मेहनतका साथ हामीले कमरेड दुर्गा पौडेललाई बामगठबन्धनको तर्फबाट प्रतिनिधीसभाका लागि निर्वाचित गरेर पठाएका थियौं । आज फेरि उहाँलाई नै सत्तागठबन्धनको तर्फबाट संघीय सांसदको रुपमा अगाडी सारेको कुरा चर्चामा ल्याइएको छ । यद्यपि यस विषयमा कुनै औपचारिक सहमति भएको देखिएको छैन । बिगत ५ वर्ष निरन्तर रुपमा (केपी ओलीले संसद विघटन गर्दाको समय बाहेक)राष्ट्रिय जनमोर्चा र दुर्गा पौडेल सत्तापक्षमा रहनुभएको छ । जिल्लाको विकासका लागि महत्त्वपूर्ण पहलहरु केही भएन भन्ने आमगुनासो रहेको छ र सांसदका रुपमा हुनैपर्ने कामहरु बाहेक समग्र प्युठानको विकासका लागि उल्लेख गर्न लायक पहल भएको महसुस भएन । समग्र जिल्लाको विकासलाई हेर्ने दृष्टिकोणको दायरा फराकिलो हुन बाकी छ भन्ने एउटामात्र दृष्टान्त उल्लेख गर्नु बान्छनीय नै होला । नेपाल सरकारले मुलुकको १०० पर्यटकीय गन्तब्य निर्धारण गरि योजनावद्द विकास गर्ने हेतुले आ आफ्नो जिल्लाबाट त्यस्तो गन्तब्य छनौट गरि सिफारिस गर्न प्रत्यक्ष निर्वाचित सांसदहरुलाई अनुरोध गर्यो । हाम्रो जिल्लाको सांसदले स्वर्गद्वारी,गौमुखी जस्ता पहिचान भइसकेका महत्त्वपूर्ण स्थानहरुलाई छाडेर मच्छीढाडको रकगार्डेन लाई छनौट गर्नुभयो । यद्यपि रकगार्डेनलाई पनि विकास गर्नुपर्छ तर प्रधान र गौण छुट्याउनु जरुरी थियो ।
त्यसैले जनप्रतिनिधि हुँदा वा सार्बजनिक जिम्मेवारीमा रहदा कस्ले के कति कार्य गर्यो भन्ने कुराको हेक्का, हिसाब जनताले राखेका हुन्छन् । जनआवाजलाई, जनभावनालाई नजरअन्दाज गरेर अगाडि बढ्दा प्रत्युत्पादक बन्न पनि सक्दछ ।
यतिबेला समग्र जिल्लाभरी ध्यानदृष्टि पुर्याएर दाङ्गबाङ्ग देखि स्याउलीबाङ्ग हुँदै कोचिबाङ्ग देखि अर्खासम्मका विकासका आवस्यकता र संभावनाहरुलाई तथा जनताका समस्याहरुलाई दृष्टिगोचर गर्दै राज्यश्रोत सम्म सहज पहुँच पुर्याउन सक्ने योग्यतम पात्र भनेको कृष्णध्वज खड्का नै हो भन्ने कुरा आम प्युठानीले महसुस गरेका छन् । यसो त प्युठान जिल्ला २०४८ साल यता सधैं राज्यको प्रतिपक्षका रुपमा रहेका कारण यहाँ विकास हुनसकेको थिएन कृष्णध्वज खड्का लुम्बिनी प्रदेश सरकारको अर्थमन्त्री भएपश्चात बल्ल प्युठान राज्यपक्षको भएजस्तो अनुभुति भयो भन्ने विषयको चर्चा बौद्धिक तप्कामा हुनेगरेको छ । यथार्थ पनि यो हो कि लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काको विषेश इनिसियसनमा प्युठान जिल्लाको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण ठालनीहरु भएका छन् । जिल्लामा अरबौका बजेट सहित विकास योजनाहरु अगाडि बढेका छन् । सदरमुकाम खलंगामा लुम्बिनी स्किल एकेडेमी,बिजुवारमा मगरात बहुप्राबिधिक शिक्षालय,५० सैयाको प्युठान अस्पताललाई आवस्यक बजेट व्यबस्था गरि भवन तथा पुर्बाधार निर्माण प्रकृयाको सुरुवात,झिम्रुक नदी नियन्त्रणका लागि ५० करोड बढी बजेट व्यवस्था,जिल्लामा एउटा पनि गतिलो सभाहल नभएको अवस्थामा बिजुवारमा सुबिधायुक्त बहुउद्देस्यीय सभाहलको सुरुवात,स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई भौतिक पुर्बाधार सम्पन्न बनाउन प्रयाप्त बजेट व्यवस्था,जिल्लाका ४ वटा माबी हरुलाई नमूना बिधालयका रुपमा विकास गर्न करोडौं बजेट व्यवस्था,१० वटा बिद्यालयहरुमा प्राबिधिक धारको अध्यापनका लागि श्रोत व्यबस्थापन,स्वर्गद्वारी,गौमुखी,नौबहिनी,झाकृढुङ्गा,भित्रीकोट,तुषाराकोट,झाकृस्थान,इख्नाकोट लगायतका पर्यटकीय गन्तव्यहरुको योजनावद्द विकासका लागि करोडौं बजेट व्यवस्था,बाग्दुला बाहाने स्याउलिबाङ्ग,चेरनेटा पुरनठाटी लगायत जिल्लाका दर्जन बढी ग्रामिण सडकहरुको स्तरउन्नती गर्न बहुवर्षिय ठेक्काप्रक्रियाका लागि वजेटको सुनिश्चितता,६४ वटै वडामा पुर्ण विद्युतिकरणका लागि आवस्यक बजेट व्यवस्था,दर्जनौं सडक पुल र झोलुंगे पुलहरुको निर्माण सुरुवात,जिल्लाभर सिंचाइ पुर्बाधार र खानेपानी योजनाहरुको लागि करोडौं बजेट व्यवस्था भएको छ ।
यी तथ्यहरु बाट आम प्युठानीलाई राज्यसत्तामा आफ्नो पहुँच स्थापित भएको आभास भएको छ । २०४८ को संसदीय निर्वाचन पश्चात् का अढाई दशक सम्म राज्यको प्रतिपक्ष जस्तो भएका कारण विकासमा पछाडी पर्यो भन्ने महसुस गरेका प्युठान र प्युठानी जनतालाई जनक्रान्तिका क्रममा कष्टडी,हिरासत र जेलमा कठोर यातनाका कारणबाट ठिलोठिलो र अशक्त बनेको भौतिक शरीरका बाबजुद जिल्लाको समृद्धिको हुटहुटी सहित सत्तामा रहदा वा नरहदा पनि निरन्तर खटेर सत्ता र राज्यश्रोतमा पहुँच पुगेको अनुभुति दिलाउने कमरेड कृष्णध्वज खड्कालाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरि संघीय सरकारको मन्त्री वा प्रदेश सरकारको मुख्यमन्त्रीको भुमिकामा प्युठानी जनताले देख्ने चाहना राख्नु सर्बथा न्यायोचित देखिन्छ ।
जनआवाज अनुसार उम्मेद्वार छनौट नगरे गठबन्धनका लागि घातक हुन सक्छ
जनआवाज अनुसार उम्मेद्वार छनौट नगरे गठबन्धनका लागि घातक हुन सक्छ
Advertisement
तपाईको प्रतिक्रिया