जनखोजी संवाददाता
प्युठान, लामो समय देखि प्युठानमा किसानले उत्पादन गरेको बेसारले मूल्य पाएको थिएन । लामो समय देखि किसानले उत्पादन गरेको कृषि उपजको वजारीकरण र व्यवसायीकरणका लागि चिन्ताको बनेको थियो । लामो सोच विचार गर्दै आइरहेका तत्कालिन प्यूठान नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लिलापजंग के.सी.लाई एउटा मौका जुर्यो त्यो बेसार प्रशोधन ।
२०७८ कात्र्तिक ८ गतेका दिन स्वयंसेवी नेपाल राष्ट्रिय समुहका राष्ट्रिय कोषाध्यक्ष विजया बस्नेतको समन्वयले सो कार्य सफल बनाउन सहज भएको के.सी.ले बताए ।
बस्नेतले स्वयंसेवी नेपाल राष्ट्रिय समुहका राष्ट्रिय अध्यक्ष शिव रिमाल र जापानी व्यक्तिलाई अवलोकन गराउन भूमिका निर्वाह गरेकी थिइन ।
जापान सरकारले प्युठान नगरपालिका–८ मा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने र कृषि उपकरण उपलब्ध गराउने भएको छ ।
नेपालका लागि जापानका राजदूत किकुता युकाताले स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालसँग अनुदान सम्झौतामा केही दिन अघि हस्ताक्षर गरेका छन् ।
जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको यो परियोजनामा १ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय अनुदान समावेश छ । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाको लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।
यो परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका–८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने छ ।
बेसारको बजारीकरण गर्न नसक्दा किसानले मनग्ये आम्दानी गर्न सकिरहेका छैनन् । परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विश्वास लिएको छ ।