शशिधर भण्डारी (समृद्ध)
हामी दैनिक ग्लोवलाइजेशनको प्रभावमा परिरहेका छौं । सामाजिक, राजैनितिक तथा प्रविधिमा हामी अगाडि देखिरहेका छौं । तर हाम्रो समाजले भोगिरहेको दुःख न त सामाजिक सञ्जालले देखाइरहेको छ, न त टिकटकले न त कुनै माध्यमले । यी दुःखका विषयमा हामी कहिले सजग हुने ? यो गम्भिर विषय हो । यहाँ सामाजिक सञ्जालमा नभेटिने तर कानुनतः बर्जित कुराहरुबाट समाज कसरी समस्या भोगिरहेको छ भन्ने कुराहरुलाई दर्शाउन खोजेको छु । यहाँ अस्मीताहरुको अस्मिता जोगाउने कसरी भन्ने चिन्तनलाई मेटाउने प्रयास गरेको छु ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय प्युठानको सामाजिक सञ्जाल पृष्ठमा आफ्नो गाउँकी एक बहिनीको फोटो सहित टिप्पणीहरु लेखिएको विवरणहरु देखे । शिर्षक थियो‘फैसला कायान्वयन सम्बन्धमा’ । त्यसमा नौबहिनी गाउँपालिका–८ फोप्लीकी अस्मिता बि.क.लाई बहुविवाह सम्बन्धि कसुर मुद्धामा अदालतमा पेश गरियो भन्ने लेखेको देखेपछि मनमा एउटा कुरा खेल्न थाल्यो । म ग्रामीण क्षेत्रमा हुर्केको र देखेको व्यक्तिको नाताले लैंगिक हिंसा र महिलाहरुको अवस्था के छ भन्ने केही कुराहरुको अनुभव गरेको छु ।
अभियुक्त महिला उमेरले २०–२२ वर्षको जस्तो लाग्दछ । उनको दोश्रो घरबारको समयमा बहुबिबाहको कसुरमा जेल पुग्नु परेको छ । कानुनतः बहुबिबाह सामाजिक अपराध हो । बहुबिबाहले कैयन परिवारमा समस्या परेको छ । बहुविवाहले सामाजिक रुपमा कलह, पारिवारिक रुपमा आर्थिक तथा पारिवारिक संकट निम्त्याउछ । तर पनि समाजमा बहुबिबाह र पटक–पटक विबाह किन हुन्छ ? यो समाज विज्ञानको अनुसन्धानको विषय बन्नु पर्दछ । माइती परिवारमा आर्थिक रुपमा कमजोर उनको परिवार एक ठाउँमा विहे गरेको घरबार विग्रीएपछि दोश्रो घरबार पनि अवैधानिक तथा गलत हुन पुगेको छ ।
अशिक्षा, उमेरको हिसावले दया गर्ने ठाउँहरु रहेपनि बुहबिबाहलाई क्षमा दिन त सकिदैन तर धेरै अस्मिताहरु नजन्मिउन भन्ने मात्रै हो । मलाई लाग्दछ मैले भोगेको तथा देखेको समाज छ जुन समाजमा बालबिबाह, बहुबिबाह र पटक पटक बिबाह मध्ये १ पनि नभएको परिवार छैन् ।
फोप्लीमा बढी मात्रामा दलित समुदायमा यो समस्या बढी देखिन्छ । जहाँ परिवारको आयश्रोत कमछ, आफ्नो सम्पत्तिमा रहेको जग्गा जमिनमा प्रयाप्त उव्जनी नहुँदा सानैमा विदेशिनु पर्ने बाध्यता अहिले पनि छ । यस कारण पनि यो समस्या न्युन हुनुपर्ने दरमा खासै कमी आएको छैन् ।
यो समस्या समाधानका लागि सरोकारवालाहरु जागरुक हुनै पर्दछ । लैंगिक हिंसा, आर्थिक सशक्तीकरणमा जिल्लामा थुप्रै परियोजना, सरकारले ठुलो मात्रामा वजेट खर्च गरेपनि नागरिकले समस्याको छुट्कारा मार्नुले परियोजनाको प्रभावकारीता माथि गम्भिर प्रश्न उव्जाएको छ ।
स्थानीयलाई आर्थिक रुपमा सशक्तिकरण र बहुबिबाह, लैंगिक हिंसाको विरुद्धमा उभिन सचेतिकरण गर्नु पर्ने जरुरी देखिन्छ । हाम्रो समाजमा बढी मात्रामा देखिएको समस्या समाधानका लागि सरोकारवालाहरु सहित योजना निर्माण गरी केही सकारात्मक काम गर्न सकौं । यो टड्कारो आवश्यकता हो ।
‘‘बालबिबाह हुन्न भनौ, बालबिबाह÷बहुबिबाह नगरौं, गर्न नदिऔं’ समाजमा अस्मीताहरु अन्य पनि बन्न सक्दछन् । उनीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सचेत नागरिक निर्माणका लागि केही गर्नै पर्दछ । भोलीका दिनमा यी घटनाहरु नदोहोरिउन ।