जनखोजी
प्युठान, सरुमारानी गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । सोमबार सरुमारानी गाउँपालिका वडा नं. ४ स्थित सभाहलमा पालिकाका प्रशासन शाखा प्रमुख लक्षमण आचार्यले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाबीच भएको सार्वजनिक सुनुवाईमा गाउँपालिकाका विभिन्न गतिविधिमा विभिन्न सवाल उठेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको बेरुजु रकम शुन्यमा झार्नुपर्ने ,कृषि अनुदान तथा लक्षित वर्गको कार्यक्रम प्रभावकारी बनाउनुपर्ने,गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, खानेपानी लगायतका अधुरा आयोजनाहरु पुरा गर्नुपर्ने लगायतका बिषय राखेका हुन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले गाउँपालिकाले समग्र सरुमारानीको समृद्धिका लागि काम गर्दै आएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले गाउँपालिकाले प्रत्येक चौमासिकमा गरिएका योजना तथा सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि प्रत्येक चौमासिक समयावधिमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको सुनाए। सार्वजनिक सुनुवाइमा नागरिक सहभागिता बढाउनुपर्ने पाठकको भनाई छ।
गाउँपालिकाद्वारा चालू आर्थिक वर्ष २०७९र८० दोश्रो चौमासिकमा प्रकाशित ईबुलेटिनको पालिका अध्यक्ष विश्वकर्माले विमोचन गरे ।