जनखोजी
प्युठान, २०७९ असार देखि प्युठान अस्पतालमा आएका विरामी निजी मेडिकलमा जान बाध्य छन् । लामो समयसम्म अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुबाटै विजुवार बजारमा सञ्चालनमा आएका फार्मेसीमा मार्फत सञ्चालित भिडियो एक्सरे मेसिनमा जाँचका लागि पठाइदै आइएको थियो । विरामीहरु चर्कोशुल्क तिरेर जाँच गर्न बाध्य भएका थिए ।
मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रमिला खनालले मेशिन सही अवस्थामा हुँदापनि डाक्टरले प्रयोग नगरेको प्रतिक्रिया दिइन् । अस्पतालमा कार्यरत डाक्टरले नीजी क्लिनिकमा पनि विरामी हेर्ने हुँदा उक्त मेशिन प्रयोग विहिन गराईएको अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरुले समेत बताउँदै आएका छन् ।
तर, भिडियो एक्सरे मेशिनको वास्तविकताबारे अस्पताल प्रशासनले आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको थिएन । ‘यहाँको मेशिन प्रयोग गर्दा नीजिमा बिरामीको चाँप कम हुने भयो नि त’,नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘जानेरै बुझेरै मेशिनलाई बिग्रेको भनियो, पुरै नाफा कमिशनको कारण ।’ अस्पतालमा जनशक्तिविच टिमवर्कमा तालमेल नमिलेको उनले सुनाए ।बिग्रेको भनिएको मेशिन सही अवस्थामै भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका रेडियोलोजिस्ट डाक्टर राजेन्द्र खनालले बताए । शनिबार डाक्टर खनालले बिरामीको भिडियो एक्सरे गरेका थिए । ‘मेसिनले काम गर्छ’, उनले भने, ‘हाम्रो पहाडी क्षेत्रका जिल्ला अस्पतालहरूमा यहि मेशिन प्रयोग गर्दै आईरहेको अवस्था हो ।’
जिल्ला अस्पताल प्यूठानलाई २०७४ सालमा स्वास्थ्य सेवा विभागले १३ लाख ३६ हजार २ सय ४० रुपैयाँ लागत मूल्यको उक्त भिडियो एक्सरे मेशिन प्रदान गरेको अस्पतालले जनाएको छ ।
प्युठान अस्पालमा भएको लापरबाहीको अनुसन्धान तथा छानविन होला त ? यो भने हेर्न बाकी छ ।