महाविर राना
नेतृत्वको अर्थ र परिभाषा व्यापक भएपनी हामी कहाँ नेतृत्व भनेको मुलतः राजनीतिक नेतृत्वलाई बुझ्ने चलन बिद्यमान छ ।नेतृत्व ठिक नभएका कारणले हामीले दुःख पायौं । हाम्रो देश विकास हुन नसक्नुमा यहाँका नेताहरु असल र क्षमतावान हुन नसक्नु मुख्य कारण हो । समाजमा बिद्यमान आर्थिक सामाजिक पछौटेपन,अशिक्षा,बेरोजगारी, भ्रष्टाचार जस्ता समस्याहरुका जड भनेका नेतृत्व नै हुन भन्ने बुझाइ राम्रो सङ्ग घर गरेको छ । कहिँ बाटोमा खाल्डाखुल्डी देख्यौं भने नेतालाई तथानाम गाली गर्ने चलनले संस्कारकै रुप लिएको छ । मानौं कि यहाँ सबै चौपट पार्ने नेता नै हुन् र यिनी राक्षसका अर्का रुप हुन् ।
के आज यी नेतृत्वले समयानुकूल नेतृत्व क्षमता प्रदर्शन गर्न सकेनन् भनेर हिजोको ऐतिहासिक भुमिकाको अवमूल्यन गर्न मिल्छ । देश विकासको मुख्य आधार नेतृत्वको क्षमता र इमानदारीता भएकाले नेतृत्वलाई देश र जनताको हित प्रती जिम्मेवार र इमानदार बन्न घचघच्याउनु अत्यन्तै जरुरी छ । ब्यक्तिगत र पार्टीगत स्वार्थका लागि राज्यको शक्ति र श्रोतलाई दुरुपयोग हुन नदिन खबरदारी गर्न आवश्यक छ ।
अर्को पाटो नेतृत्वको चाकरी चाप्लुसी र दलाली गर्ने समस्या बनेको छ । नेतृत्वको यति धेरै महिमामण्डन र प्रशंसा गर्छौं कि नेतृत्व भनेका भगवान हुन् । नेतृत्वको बोली वाणी हुन् र नेतृत्व बाहेक सबै भ्रम हुन् ।
नेतृत्वको वरिपरि घुमेर नेतृत्वको भजनमण्डली बनेर निश्चित स्वार्थ पूरा गर्ने समुहले नेतृत्वको देवत्वकरण गरिरहेको हुन्छ । यो प्रवृत्ति अत्यन्तै घाटक छ । यस्ले नेतृत्वलाई निरंकुश र स्वेच्छाचारी बन्न तर्फ प्रेरित गरिरहेको हुन्छ ।हाम्रो नेतृत्वमा नैतिक मुल्य र इमानको कमी भएको कुरा सत्य हो । व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित हुँदा राष्ट्र र जनताका समस्याहरु ओझेलमा परेका कुरापनी सत्य हुन् ।
इमानदारीता भए पनि युग सुहाउँदो क्षमता भएको नेतृत्वको अभाव महसुस गरिएको कुरापनी साचो हो र सही व्यक्ति सही ठाउँको नेतृत्व मा हुन नसकेको कुरा पनि धुर्बसत्य हो ।
नेता ठिक नभएकै कारणले देशमा परिबर्तन भएन विकास भएन भन्ने जनगुनासोका बिच हामीले असल नेतृत्वको खोजी गर्नु अत्यन्तै जायज छ । तर हामीले अब्राहम लिंकन,लि क्वान यु,सि जिन पिङ जस्ता नेतृत्वहरु नेपालमै खोजी गर्ने हो । नेतृत्व भनेको कहिँ बाट आयात गरेर पुर्ती गर्ने विषय होइन । र हामीले कहाँ बिद्यमान नेतृत्वको राम्रा कामको प्रशंसा र कमिकमकोरीको स्वच्छ आलोचना गर्नुपर्दछ । नेतृत्वको पुजारी बनेर ब्यक्तिपुजा गर्ने,भजनमण्डली बनेर नेतृत्वको प्रशंसामात्र गर्ने,नेतृत्व कमीकमजोरी लाई औल्याउँन सक्ने आलोचनात्मक चेत राख्न नसक्ने प्रवृत्तिले हामीले खोजेको इमानदार र क्षमतावान नेतृत्व कहिल्यै प्राप्त गर्न सक्दैनौं । त्यसैले नेतृत्वको देवत्वकरण र राक्षसीकरण नगरौं ।