शशिधर भण्डारी
प्युठान, २८ पुस: प्युठान नगरपालिका–४ काठेबरका ५४ वर्षीय काल बहादुर सुनार कालले खासेको छोरो पर्खिरहनु भएकोछ । रुस–युक्रेन युद्धग्रस्त क्षेत्रको बङ्करमा युक्रेनले हानेको बमले छोराको मृत्यु भएको खवरले छट्पट्याई रहनुभएकोछ । रुसमा छोरासंगै युद्धमा होमिएर घाइते भएका साथीले दिएको खवर पत्याउनै गाह्रो भएकोछ ।
साथीले दिएको जानकारी अनुसार २६ वर्षीय छोरा सोमेश सुनार जीवित छैनन् । कलिलो उमेरमा छोरा गुमाउनु पर्दा कालबहादुरको चैन हराइरहेको छ । छोराको क्षतविक्षेत शव रुस वा युक्रेन कस्को कव्जामा छ भन्ने जानकारी नभए पनि कालले खोसेको छोराको घटनाको प्रमाण मात्रै भएपनि पर्खिरहेको उहाँ बताउनु हुन्छ ।
बुबा भारतमा सुरक्षागार्डमा काम गर्न पुगेपछि घरमा प्यारालाइसिस भएकी आमाको सेवाको जिम्मेवारी श्रीमती मायालाई सुम्पेर २०७८ वैशाखमा सोमेश कतार पुगेका थिए । बढ्दो महंगी र गरिवीको चपेटामा परेको परिवारलाई माथी उकास्ने सपना देखेर कतार पुगेका सोमेशलाई युरोप जाने रहर लागेर युरोप जान परिवारसंग सल्लाह मागेको काल बहादुरले बताउनु हुन्छ । “युरोपको राम्रो देश जान्छु भनेको थियो, रुस जान्छु भनेको भए जान दिने थिएन्” काल बहादुरले भन्नुभयो,“नेपालबाट खोजेर सोमेशकी श्रीमतिले साढे ४ लाख र भारतबाट १ लाख युरोप जान पठाइ दिएका हौं ।”
तीन महिनाअघि रुस गएका सामेशले परिवारलाई जानकारी दिनुभएको थिएन् । त्यहाँको सेनामा भर्र्ती भएका उहाँ पहिलो महिनाको तलब बुझेको खुशीयाली घरमा पुराउन पाउनुभएन् । घरको जेठा छोरा सोमेशका एक २५ वर्षीय श्रीमति, ५ वर्षिय छोरा, एक भाइ र एक बहिनी हुनुहुन्छ । कतारको कम्पनिमा मासिक ५० हजार कमाइ सोमेश परिवारको मुख्य स्रोत हुनुहुन्थ्यो । सोमेशको अप्रत्याशित खवरले परिवारलाई ठुलो बज्रपात आइलागेको र परिवारको मियो गुमेको उनका आफन्त तथा छिमेकीहरु बताउँछन् ।
छोरोले कमाएर आउला र खुशी हुन पाइने कल्पना गरिरहेका बुवा अनि अशक्त आमाले उसको अनुहार पनि देख्न पाउनु भएन। ५ वर्ष पनि नपुगेका छोराले बुवाको अनुहार चिन्न पाएनन् ।
नेपालबाट वैधानिक रुपमा नगएकाले अहिले सोमेशको मृत्यु भएपनि गृह मन्त्रालयले आधिकारिक खबरसम्म दिन सकेको छैन । सोनुका छिमेकी खगेश्वर थापाका अनुसार उनीसँगै गएको बर्दियाका साथीसँग आफू निरन्तर सम्पर्कमा रहेका र ती साथी पनि सो लडाईंमा घाइते भएर अस्पतलातमा उपचार गराइरहेका छन् ।
‘नेपालबाट नगएर कतारबाट गएकाले यहाँ सरकारलाई घटनाबारे समयमा जानकारी हुने कुरा भएन, सँगै गएका ती साथीले लडाईंमा सँगै गएको र सोनुको मृत्यु भएको सुनाएका छन्, शव पनि क्षतविक्षत भएकाले अब ल्याउने नि कसरी भन्ने हो, उनी पनि घाइते भएर अस्पतालमा रहेछन् उनको सुरक्षाका लागि हामीले नाम सार्वजनिक गरेका छैनौ’, थापाले भन्नुभयो । थापाका अनुसार वर्दिया घर बताउने साथीले ९ डिसेम्बर अर्थात मङ्सीर २३ गते मृत्यु भएको बताएका छन् । साथीले युक्रेनले वङ्करमा बम आक्रमण गर्दा तीन जना नेपालीको मृत्यु भएको थाहा पाएको आफुपनि नजिकै भएकाले घाइते भइ बेहोस भएकोले थप जानकारी नभएको बताएका हुन् ।
यता प्युठान नगरपालिकाका नगरप्रमुख बिष्णु योगीले परिवारमा खवर आएपनि आधिकारिक सूचना पाउन मुश्किल भएको बताउनुभयो । रुसी सेनामा भर्तिहुन नेपाल सरकारले अनुमती दिएको छैन् । पछिल्लो समयमा अवैधानिक बाटोबाट रुस पुगी सेनामा भर्ना भइ मृत्यु भएका घटना घटिरहेका छन् । योगीले भन्नुभयो, “परराष्ट्र मन्त्रालय लगायतका सम्बन्धित निकायहरुमा बुझ्दा सरकारी निकायबाट यसको पुष्टी हुन मुश्किल पर्ने देखिन्छ, एकातिर आधिकारिकता र शवको विषय जानकारी बिहिन छ अर्कोतर्फ सामाजिक सञ्जालबाट मृत्युको खवरले परिवारमा तनाव छ ।” नगरप्रमुख योगीले गृहमन्त्रालय र परराष्ट्रमन्त्रालयमा घटनाको विषयको टुंगो लगाउन समन्वय गर्ने बताउनु भएकोछ ।
साेमेशकाे परिवारकाे सान्त्वनाका लागि प्रतिनिधि सभा सदस्य सुर्य थापा, एमाले नेता, यज्ञ बहादुर के.सि., सुमनराज श्रेष्ठ सहितका माओवादी नेता, अन्य राजनीतिक दलका नेता समेत पुगेर सान्त्वना दिईरहेका छन् ।