दिपक खत्री,बुटवल।हामी तोतेबोली फुट्न नपाउँदै शिक्षाका नाममा किताबको भारी बोकेर विद्यालय धाउन थाल्यौँ । अक्षर चिन्यौँ, पढ्न सिक्यौँ र लेख्न पनि जान्यौँ । मासिक, त्रैमासिक र वार्षिक परीक्षा कसरी उत्तीर्ण गर्ने भन्ने चक्करमा घुमिरह्यौँ । निकै तनावका साथमा परीक्षाभवनमा बस्यौँ र निरीक्षक कठोर भइदिँदा हामी परीक्षाभवनमा छटपटायौँ पनि । निरीक्षक अलि उदार भइदिँदा हामी दायाँ, बायाँ, अघि र पछि गरेर भए पनि जसोतसो कपी भर्नमा मात्र आफुलाई सीमित बनायौँ । यस्तै क्रमले हामीले विद्यालय हुँदै विश्वविद्यालयका परीक्षाहरू दिदैछौं । हामीलाई घरपरिवारले र समाजले शिक्षित ठानिदियो । तर हामी व्यावहारिक रूपमा शिक्षत हुन नसक्दा जागिरका कारखानाहरूमा जागिरको भीख माग्दै हिँड्न विवश भयौँ । निकै दुःखका साथ जागिर हातमा पनि पर्यो र हामीले क्रमशः आफुले पाएको आडम्बरी शिक्षालाई पनि भुल्दै गयौँ किनकि हामीलाई हाम्रो शिक्षाले कहिल्यै पनि आत्मनिर्भर हुन, स्वावलम्बी बन्न र व्यावहारिक हुन सिकाएन !
मेरो विचारमा शिक्षा प्राप्त गर्नुको अर्थ प्रमाणपत्र बटुल्नु मात्र होइन, शिक्षित हुनु हो । संसारमा जिउनका लागि निकै प्रतिस्पर्धा र सङ्घर्ष गर्नुपर्छ, त्यसको सामना गर्न शिक्षाले हामीलाई मद्दत गरेको हुनुपर्छ । जीवनमा आइपर्ने हरेक समस्याको समाधान गर्न हामीलाई हाम्रो शिक्षाले नै सघाउनुपर्छ । कुनै किसिमको भय र दबावबाट शिक्षाले हामीलाई मुक्त गर्न सक्नुपर्छ । परम्पराभन्दा केही पाइला अघि बढाएर नयाँ ढङ्गले सोच्न सक्ने बनाउनु पनि शिक्षाकै उद्देश्य हुनुपर्छ । हामीलाई हाम्रो समाजले र हाम्रा अभिभावकले यसरी सोच्नुपर्छ भनेर दिशानिर्देश गरिरहे, गरिरहेका छन् र गरिरहनेछन् तर हामी त्यत्तिकैमा सीमित हुनु हुँदैन । हामी त कसरी सोच्नुपर्छ ? भन्ने कुराको चिन्तन गर्न अग्रसर हुनुपर्छ भन्ने कुरा हामीलाई हाम्रै शिक्षाले दिशानिर्देश गर्न सक्नुपर्छ । शिक्षाले हामीलाई आदर्शमा सीमित रहन होइन यथार्थमा बाँच्न सिकाउनुपर्छ । यथार्थले हामीलाई सङ्घर्षका साथ बाँच्न सिकाउँछ र तयारी सामग्रीमा भन्दा हामीलाई नयाँ सामग्री उत्पादन गर्न वा बाँझो खेतबारी आफै खनजोत गरी अन्न उब्जाएर जीवनलाई सृजनशील बनाउन प्रेरित गर्छ । हामीलाई आजसम्मको शिक्षाले यस्तो सिकाएन र यस्ता सम्भावनाहरू पनि देखाउन सकेन । हाम्रो राज्यको शिक्षानीतिमा यस्ता सम्भावनाहरू भित्रिएलान्÷नभित्रिएलान् तर औपचारिक शिक्षा लिइसकेपछि पनि हामीले यस्ता सम्भावनाका ढोकाहरू उघार्न सक्छौँ किनभने औपचारिक शिक्षाभन्दा अनौपचारिक वा व्यावहारिक शिक्षाको मूल्य र महत्त्व निकै बढ्ता हुन्छ ।
अर्को कुरा,
जतिसुकै बालमैत्री शिक्षाको चर्चा गरिरहे पनि हाम्रा विद्यार्थीहरू शिक्षकको, विद्यालय प्रशासनको र अभिभावकको भयबाट कहिल्यै मुक्त हुन सकेका छैनन् । विद्यार्थीमा यदि कुनै किसिमको भय छ भने त्यसले उनीहरूको मनलाई विचलित र विकृत बनाइदिन्छ । विकृत र विचलित मन लिएर कुनै पनि विद्यार्थीले वास्तविक शिक्षा हासिल गर्न सक्तैन । सबै किसिमका भयबाट विद्यार्थीलाई मुक्त गराउनु र भयमुक्त हुन प्रेरित गर्नु शिक्षाको उद्देश्यभित्रै पर्दछ भन्ने कुरा हाम्रो शिक्षानीतिले नै आत्मसात् गर्न सकेको छैन । भयबाट मुक्त गराउँदै जाने हो भने धेरैजसो विद्यार्थीहरू सृजनशील हुन सक्थे र आफ्नो समस्या आफै समाधान गर्न अग्रसर हुने थिए । अधिकांश विद्यार्थीले भययुक्त भएर भन्दा भयमुक्त भएर नै वास्तविक रूपमा शिक्षा आर्जन गर्न सक्छन् ।
शिक्षा तुलनारहित हुनुपर्छ
हाम्रो समाज वास्तवमा तुलनामा आधारित छ तर तुलनाले नै हाम्रो समाज यथार्थमा स्वस्थ हुन सकिरहेको छैन । हामीले कक्षामा प्रथम हुने विद्यार्थीसँग अन्य विद्यार्थीको तुलना गर्छौं र सबै विद्यार्थीलाई त्यस्तै बन्नुपर्छ भन्ने निर्देशन दिन्छौँ । जसका कारण हाम्रा विद्यार्थीहरूमा ईष्र्याको भावना जागृत हुन्छ । ईष्र्याले द्वेषलाई र द्वेषले गर्दा नै भयलाई बढाउन अझ बढ्ता मद्दत गर्दछ । तुलनाले हाम्रो प्रतिभा र चेतनामा समेत क्रमशः ह्रास आउन थाल्छ । तुलनाले नै हाम्रा विद्यार्थीलाई भयमुक्त होइन भययुक्त बनाइदिन्छ । तुलनाले प्रेम होइन घृणा र द्वेषको भावना विस्तार गरिदिने भएकाले पनि शिक्षा तुलनारहित हुनु नितान्त आवश्यक छ ।
शिक्षा अनुकरणमुक्त हुनुपर्छ,
हामी अरूको अनुकरण वा नक्कल गर्न चाहन्छौँ र विद्यार्थीलाई पनि हामीले फलानो जस्तै बन्नुपर्छ भनेर अनुकरण गर्न प्रोत्साहन गर्छौं । वास्तवमा जीवनको उच्चतम विन्दुमा पुग्न र स्वअस्तित्व कायम गर्न हामीलाई अनुकरण साधक होइन बाधक बन्छ । अनुकरणले गर्दा हामीभित्रको सृजनात्मक क्षमतामा ह्रास आउँछ । अनुकरण गर्ने मनले वास्तविकता पत्ता लगाउन सक्तैन । प्रारम्भमा अनुकरण गर्न उपयुक्त नै देखिए पनि गन्तव्यमा पुग्दासम्म अनुकरण गरिरहनु हानिकारक मानिन्छ । तसर्थ जीवनका अन्य क्षेत्रहरूमा जस्तै शिक्षा क्षेत्रमा पनि सदैव अनुकरण गर्ने प्रवृत्तिको अन्त गर्नु आवश्यक छ ।
जसरी हामीले रुचिकर भएन भने राम्रोसँग भोजन ग्रहण गर्न सक्तैनौँ, बाध्यतावश ग्रहण गरिहाले पनि त्यसलाई पचाउन हामीलाई मुस्किल पर्छ र अन्ततः हामी अस्वस्थ हुन्छौँ । त्यसैगरी शिक्षा पनि रुचिकर भएन भने हाम्रा विद्यार्थीले त्यसलाई राम्रोसँग ग्रहण गर्दैनन् र गरिहाले पनि त्यसको मर्मलाई आत्मसात् गर्न नसक्ता हाम्रा विद्यार्थीहरू पढेर पनि अशिक्षित जस्तै बन्न पुग्छन्, अपाङ्ग भएको अनुभूति गर्न बाध्य हुन्छन् । बाध्य भएर पढ्न थाल्दा मस्तिष्कले शिक्षालाई ग्रहण गर्न सक्तैन र अन्ततः हाम्रा विद्यार्थीहरू शिक्षण संस्थाहरूको परीक्षामा मात्र होइन जीवनका अनगिन्ती परीक्षाहरूमा समेत कम सफल भएको अनुभूति गर्न बाध्य हुन्छन् । पाठ्यक्रम र पाठ्यपुस्तकका सामग्रीहरू मात्र रुचिकर भएर पुग्दैन, शिक्षकले पनि विद्यार्थीहरूमा रुचि वा भोक जगाउने खालका शिक्षणपद्धतिको अलवा जुन शिक्षामा विद्यार्थीको रुचि जाग्छ त्यस्तो शिक्षा उनीहरूले मासिक, त्रैमासिक र वार्षिक परीक्षाको उत्तरपुस्तिकामा मात्र टाँस्न होइन आफनो जीवनपर्यन्त ग्रहण गरिरहन्छन् ।
लेखक दिपक खत्री युवा तथा शैक्षिक पद्धतिहरुमा कलम चलाउँदै आएका छन।