स्वर्गद्वारी(प्युठान), २२ फागुनः प्राथमिक उपचार सम्बन्धि विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको छ । जुनियर÷युवा रेडक्रस सर्कल माण्डवी माध्यामिक विद्यालय नयाँगाउँ प्युठानको आयोजनामा मङ्गलवार सम्पन्न गरिएको हो ।
जुनियर÷युवा रेडक्रस सर्कलको ५९ औं स्थापना दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको विद्यालयका शिक्षक पवन पोख्रेलले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कलका उपाध्यक्ष फनी के.सी.को अध्यक्षता, विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलको प्रमुख आतिथ्यता, माण्डवी गाउँपालिकाका स्काउट आयुक्त शिवराज पण्डित, विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नन्दलाल भण्डारीको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
जाँ हेनरी ड्यूनाको तस्बिरमा माल्यार्पण, पुष्पागुच्छा अर्पण गर्दै सुरू भएकोमा कार्यक्रममा रेडक्रस महिमा र रेडक्रसका आधारभूत सात सिद्धान्त बारे विशेष चर्चा गरिएको थियो । रेडक्रस शिक्षक नायक पवन पोख्रेलले प्राथमिक उपचार र त्यसको उदेश्य , आपतकालीन अवस्थामा स्वयंसेवकले निभाउनुपर्ने भूमिका , प्राथमिक उपचारमा नभईनहुने अत्यावश्यक सामग्री, पुर्व सावधानी जस्ता विषयहरूमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई विविध जानकारीमुलक पुस्तिका, आपतकालीन अवस्थामा के गर्ने भन्नेबारे, श्रब्यदृश्य मार्फत विभिन्न प्राथमिक उपचार गर्ने तरिकाहरू सिकाईएको थियो । माण्डवी माविमा अध्ययनरत करिब १०० विद्यार्थी भाईवहिनीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक अमर आचार्यले गर्नुभएको थियो ।