प्युठान ,१२ बैशाख(जनखोजी)।राष्ट्रिय दलित पत्रकार संघ प्यूठान दोस्रो अधिवेशनको तीव्र तयारीमा जुटिरहेको छ।संघको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ । जुम्रीमा बसेको शाखाको बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ ।
शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा बसेको बैठकले दलितका कला, सिपसंग जोडिएका बस्तु प्रदर्शनी गर्ने योजना बनाएको संघका सचिव बोम बहादुर परियारले जानकारी दिए । वैशाख १५ गते बिहान मिडियामा दलितको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने शाखाले निर्णय गरेको छ ।
त्यस्तै चेतनामूलक साँस्कृतिक कार्यक्रम सहित प्यूठानमा दलितहरुले परम्परागत रुपमा पेशागत रुपमा अँगाल्दै आएका फलाम, धातुजन्य सामग्री, बाजाहरु, प्यूठानका बाघमुखे चुलेसी, काष्ठकलाहरु प्रदर्शनमा राखिने संघका अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिए।
नेपालको दलित आन्दोलनमा भएका कुराहरु लिपिबद्ध गर्दै दलितका हराउँदै गएका मौलिक सिप र कलालाई संचार क्षेत्रमा उठाउन अधिबेशनले सहयोग गर्ने अपेक्षा गरिएको अध्यक्ष सुनारले बताए । अधिवेशनलाई भव्य बनाउन आफुहरु तिव्र तयारीमा जुटेको उनले जानकारी दिए ।