बबिता रिजाल , जेठ ६ प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले स्वर्गद्धारी नगरपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा आईतबार स्वर्गद्धारी नगरपालिका ४ जलुके धर्मशालामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानिय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका अनुसन्धान अधिकृत सुदिप कुईकेलले भ्रष्टाचार सम्बन्धी अवधारणा , भ्रष्टाचारका कारण , असर तथा नियन्त्रणको आवश्यकता , कसुर तथा सजाएको प्रावधान , भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक , कानुनी र संरचनागत व्यवस्था तथा भ्रष्टाचार जन्य प्रवृत्तिहरुको विश्लेषण गर्नुभयो ।
कार्यक्रमा बुटवल कार्यलय अन्तर्गत पर्ने जिल्लाहरुको चालु आर्थिक बर्ष २०८०÷०८१ को बैसाख सम्मको जिल्लागत प्रारम्भिक उजुरी संख्या , अनुसन्धान तथा फर्छैट भएका उजुरीहरुको विश्लेषण गरिएको थियो । जसमा जम्मा १८५८ वटा उजुरीहरु मध्ये सबैभन्दा धेरै रुपन्देही जिल्ला बाट ५८४ र सबैभन्दा कम प्युठान जिल्ला बाट ५० वटा उजुरी परेका छन् ।
यस्तै अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक बर्ष २०८०÷०८१ को हाल सम्मका प्युठान जिल्लाको पालिकागत उजुरीहरुको विवरण प्रस्तुत गरिएको थियो । जसमा सबैभन्दा धेरै प्युठान नगरपालिका बाट २० वटा उजुरी परेका छन् । यस्तै स्वर्गद्धारी नगरपालिका बाट ४ , गौमुखी गाउँपालिका बाट ५ , माण्डवी गाउँपालिका बाट २ , सरुमरानि गाउँपालिका बाट ३ , मल्लरानी गाउँपालिका बाट ३ , नौबहिनी गाउँपालिका बाट ७ , झिमरुक गाउँपालिका बाट ४ र ऐरावती गाउँपालिका बाट २ वटा उजुरीहरु परेका छन् ।
सोही कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोेज बहादुर भण्डारीले स्वर्गद्धारी नगरपालिकाले गरेका असल कार्य तथा अभ्यासहरु संक्षपमा प्रस्तुत गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सह सचिव राजेन्द्र कुमार पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , विशेष अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगर र प्रमुख प्रशासकिय अधिकृत भोजबहादुर भण्डारी हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका कार्यपालिका सदस्यहरु , वडा अध्यक्षहरु , विषयगत शाखाका शाखा प्रमुखहरु , विद्यालय व्यवस्थापन समितीका पदाधिकारी , विद्यालयका प्रधानाध्यापकहरु , पत्रकार , सुरक्षकर्मी , कर्मचारी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन विरेन्द्र कार्कीले गर्नुभएको थियो ।