शशिधर भण्डारी
प्युठान, ३२ जेठ (जनखोजी)ः प्युठानको झिमरुक गाउँपालिकाले नदीमा माछा मार्न रोक लगाएको छ । झिमरुक गाउँपालिका हुँदै बग्ने झिमरुक नदी र गर्तङखोलामा विद्युतीय तार, बिष्फोटक पदार्थ र अन्य विषालु पदार्थको प्रयोग गरी माछा मार्न रोक लगाइएको हो ।
शुक्रबार झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले माछा लगायत जलचर समाउन, मार्न रोक लगाईएको सूचना विज्ञप्ती जारी गर्नुभएको हो । झिमरुक गाउँपालिका अन्र्तगतको झिमरुक नदी, गर्तङ्गखोला लगायतका अन्य साना खोला नालाहरुमा विधुतिय धार (करेन्ट), विष्फोटक पदार्थ, विषालु पदार्थ प्रयोग गरी माछा मार्ने कार्य भईरहेको गुनासो आएपछि सो कदम चालिएको अधिकृत शाहीले जानकारी दिनुभयो । चैत देखि असार महिनासम्म माछाहरुले फूल तथा भुरा उत्पादन गर्ने प्रजनन्को समय मानिन्छ ।
झिमरुक गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७६ ले विधुतिय धार (करेन्ट), विष्फोटक पदार्थ, विषालु पदार्थ प्रयोग गरी माछा मार्ने कार्य रोक लगाएको छ । सूचना जेठ ३२ गते देखि लागुहुने गरि माछा मार्न रोक लगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहिले जानकारी दिनुभयो । सूचनाको बेवास्ता गरी माछा लगायत जलचर समाउने, मार्ने गरेको पाइएमा कानुन अनुसार कार्वाही हुने उहाँको भनाइ छ ।
…………