शशिधर भण्डारी
प्युठान, २४ असार (जनखोजी)ः प्युठानको सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ । दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउन भैसीका पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बिश्वकर्माका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा १ सय २० जना किसानलाई भैँसीका पाडी वितरण गरिएको बिश्वकर्माले बताउनु भयो ।
सरुमारानी गाउँपालिका जस्तो सानो क्षेत्रमा दुध आयात गर्नु पर्ने र किसानहरुमा भैसी पालनमा रुची कम हुँदै गएका कारण भैसीपालनमा उत्प्रेरणा स्वरुप पाडी वितरण गरीएको उँहाको भनाइ छ ।
पछिल्लो समयमा किसानमा भैसीपालनको आकर्षण घटेको सरुमारानी गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक मोहम्मद हलिम हलुवाइ ले बताउनु भयो । हलुवाइले भन्नुभयो–‘ भैसीपालनमा आकर्षण बृद्धि हुनुका साथै सरुमारानीमा दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मद्दत पुग्नेछ ।’
गाउँपालिका र किसान बीच वितरण गरिएको पाडीहरुलाई ५ वर्षसम्म विक्री गर्न नपाउने सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो । गाउँपालिकाको आ.व. २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत रु ३६ लाख वजेट विनियोजन गरी कार्यक्रम गरिएको हो । सरुमारानी गाउँपालिकाले आगामी वर्षका लागि समेत ९ लाख वजेट विनियोजन गरेको छ । गाउँपालिकाले हरेक ३÷३ महिनामा पाडीको स्थलगत अनुगमन गरी कृषकलाई आवश्यक प्राबिधिक परामर्श गाउँपालिकाले दिने छ ।
मासुजन्य, अण्डा तथा दुग्ध उत्पादन तर्फ आत्मनिर्भर हुन किसानलाई विभिन्न अनुदानका कार्यक्रमहरु मार्फत प्रोत्साहित गर्दै आईरहेको गाउँपालिकाले जनाएको छ ।