काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच गठबन्धन निर्माणबारे छलफल भइरहँदा साना दलमात्र होइन, कांग्रेस–एमालेकै कतिपय नेता बेखबरजस्तै थिए ।
न कांग्रेस–एमाले गठबन्धन बनाउँदा कुनै दलसँग छलफल भयो, न सहमति गर्दा कुनै दलको बिचमा छलफल गरेका छन् । सरकार बनाउने प्रक्रिया सुरु गर्दासमेत सत्ता गठबन्धनले कुनै दलको साथ सहयोग खोजेको देखिए ।
प्रधानमन्त्रीका लागि दाबी पेस गर्दा एमाले अध्यक्ष ओलीले १६६ सांसदको समर्थन पेस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको पत्रमा कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका ८८ र एमालेका अध्यक्ष ओलीले एमालेका ७८ सांसदको समर्थन रहेको जनाउ दिँदै हस्ताक्षर गरेका छन् ।
जबकि गठबन्धन घोषणा हुने बित्तिकै सबैभन्दा पहिले उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालले समर्थनको घोषणा गरेको थियो । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उनमुक्ति पार्टीले औपचारिक, अनौपचारिक रूपमा गठबन्धनलाई समर्थन रहने घोषणा गरे । तर नयाँ गठबन्धनलाई किन र के आधारमा समर्थन गर्ने भन्नेबारे साना दलले कारण खुलाएका छैनन् ।
अहिले ती साना दल सरकारमा जानका लागि हानथाप गरिरहेका छन् । लोसपाले मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिइसकेको छ । उपेन्द्र यादव नेतृत्वको पार्टीमा पनि मन्त्री बन्नेहरूको चहलपहल बढेको छ । तर पार्टीले हालसम्म सरकारमा जाने–नजानेबारे निर्णय गरेको छैन ।
नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने विषयमा आन्तरिक छलफलमा जुटेको छ । अशोक राई नेतृत्वको जसपा पनि मन्त्री चयनको विषयमा आन्तरिक छलफलमा जुटेको छ । तर कांग्रेस–एमाले गठबन्धनले सरकारमा लिने कि नलिने, लिने भए कुन दललाई लिने, कुन दललाई नलिने, कुन दललाई कुन मन्त्रालय दिने, कति दिने भन्ने अझै निश्चित गरेको छैन ।
साना दलका अध्यक्ष तथा नेताहरू कोही कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुग्ने गरेका छन् भने कोही एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुग्ने गरेका छन् ।
कांग्रेस–एमालेका शीर्ष नेताबाट पाएको आश्वासनकै आधारमा ती दलले आ–आफ्नो पार्टीमा छलफल चलाइरहेका छन् ।
गठबन्धनले गरेको सम्झौताको बारेमा विभिन्न शङ्का भइरहेको यस बारेमा कांग्रेस–एमालेका नेताहरूसँग बुझ्दा त्यस्तो कुनै पनि सहमति नभएको बताएको रेसम चौधरीले खुलाए । गठबन्धन दलको बिचमा भएको सहमति बाहिर आएपछि मात्र थप छलफल गर्ने उनको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीले यसअघि कांग्रेस–माओवादी गठबन्धन, त्यसपछि बनेको माओवादी र एमालेको गठबन्धन सरकारलाई समर्थन गरेको थियो । नेताहरुले भाउ नदिदा पनि साना दलहरु मन्त्री बन्ने हाेडवाजीमा रहेकाे बुझिएकाे छ ।