जायश्वर जैसी
शिक्षक, गौमुखी मा.वि. ठूलाबेसी, प्यूठान
विषय प्रवेश
समाज विकासको मुख्य आधार र मेरुदण्ड भनेको नै शिक्षा हो । प्रवाभकारी शिक्षा सञ्चालन भएन भने समाज विकासको गति अबरुद्ध हुन्छ । नेपालको शिक्षा प्रणाली सारभूत रूपमा परम्परागत ढङ्ग र तौरतरिकाबाट वढी पे्ररीत छ । राज्यले लगानी गरेको सार्वजनिक शिक्षा निकै कमजोर बन्दै गएको छ । आम नेपाली जनताका छोराछोरीले अध्ययन गर्ने शिक्षालयहरू सामुदायिक विद्यालयहरू हुन् । ती विद्यालयहरूको अवस्था दयनीय बन्दै गएको छ । कुनै पनि संस्थालाई मजबुत बनाउन र संस्थागत सफलता प्राप्त गर्न ती संस्थाको नेतृत्व गरिरहेका व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण तथा निर्णायक हुन्छ । कतिपय संघ–संस्थाहरू नेतृत्वका कारण छोटो समयमै सफलताको सोपान चढेको कुरा हामीले सुन्दै र देख्दै आएका छौँ । कुनै पनि संस्थाको नेतृत्वकर्ता कस्तो छ भन्ने आधारमा ती संस्थाहरूको सफलता र असफलता जोडिएको हुन्छ । संस्थालाई सधै नयाँ बनाउने तीव्र इच्छशक्ति र हुटहुटी नेतृत्वमा हुनैपर्छ । सक्षम नेतृत्व अभावका कारण नेपालका सामुदायिक विद्यालयहरू सबल बन्न सकेका छैनन् भन्दा अत्युक्ति हुँदैन । सामुदायिक विद्यालयहरूमा सुधार हुन नसक्नु तथा कमजोर एवम् आलोच्य बन्दै जानुमा विधिध कारण मध्ये प्रमुख कारण विद्यालयको प्राज्ञिक तथा प्रशासनिक नेतृत्व गरिरहेका प्रधानाध्यापकहरूको कमजोर भूमिका तथा नेतृत्व सम्बन्धी नीतिगत अस्पष्टता नै हो । शैक्षिक गुणस्तर सुधार, भौतिक पक्षको सुधार, प्रशासनिक सुधार, सुशासन तथा वातावरणीय सुधार लागायतका सुधार गर्न प्रधानाध्यापको उच्चतम भूमिका रहन्छ । प्रधानाध्यापक जिम्मेवार र जवाफदेही नबन्दा÷नबनाउँदासम्म विद्यालयहरू सुधारको परिकल्पना गर्नु केवल दिवा सपना मात्रै हुन्छ । यस छोटो आलेखमा विद्यालय सुधारका लागि प्रधानाध्यापकको विद्यमान भूमिका कस्तो रहेको छ र विद्यालय सुधार्न के गर्नुपर्छ भन्ने कुराको विविध पाटा पक्षबाट समीक्षात्मक टिप्पणी गर्ने प्रयास गरेको छु ।
ऐन कानुन बमोजिम नियुक्ति
प्रधानाध्यापक जिम्मेवार र जवाफदेही हुने भनेको ऐन कानुनको आधारमा निज नियुक्ति भएको छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ । शिक्षा नियमावली २०५९ को नियम ९५ र सोही नियमावलीको अनुसूची १३ मा प्रधानाध्यापक छनोट र नियुक्ति सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । तर, नेपालका अधिकांश सामुदायिक विद्यालयहरूमा उक्त नियमावलीको आधारमा प्रधानाध्यापक नियुक्ति भएका छैनन् तथा गरिएको छैन । जब नियम कानुनबमोजिम नै प्रधानाध्यापको नियुक्ति छैन भने त्यस्ता प्रधानाध्यापकबाट विद्यालय सुधारको परिकल्पाना कसरी गर्ने ? त्यस्ता प्रधानाध्यापक न त ऐन कानुन, न त राज्यका निकाय, न त अभिभावक, न त विद्यार्थी, न त विद्यालयप्रति नै जवाफदेही हुन्छन् । जवाफदेही हुन्छन् त केवल उनीहरूले आस्था राख्ने र संगठित भएको दल तथा विद्यालय व्यवस्थापन समितिमा रहेका आफ्ना मान्छेप्रति उत्तरदायी हुन्छन् । उनीहरूको निर्देशन मान्ने र खुसी पार्ने तथा जस्तो गरेपनि आजीवन कथित प्रधानाध्यापक भएरै बस्ने मनासाय राखेका हुन्छन् । वास्तवमा तिनीहरू आफूले प्रधानाध्यापक घोषणा गरेपनि उनीहरू निमित्त(कामचलाउ) मात्रै हुन् । जब नियम कानुनका आधारमा प्रधानाध्यापक छनोट भएको छैन र उसँग प्रधानाध्यापकको नियुक्ति पत्र हातमा छैन भने उसले निर्धक्क भएर काम गर्न पनि सक्दैन । आफ्ना स्टाफहरूलाई नेतृत्व पनि गर्न सक्दैन । कतिपय विद्यालयहरूमा व्यवस्थापन समितिको आडमा नेतृत्व क्षमता भएका सिनियर शिक्षकको मर्यादा कुल्ची प्रधानाध्यापक बनेका छन् भने कतिपय विद्यालयहरूमा प्रधानाध्यापक हुनको लागि चाहिने न्युनतम योग्यता नै नभएका शिक्षकहरू प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । कतिपय विद्यालयहरूमा कथित सिनियरको नाममा नेतृत्व लिन सक्ने जुनियर शिक्षकलाई नदिएर पद हडप्ने काम भइरहेको छ । जुन कुराले विद्यालयमा अन्तर्विरोध उत्पन्न हुँदा विद्यालय सुधारमा बाधा उत्पन्न भएको छ । त्यसकारण अब बन्ने संघीय शिक्षा ऐनमा प्रधानाध्यापकलाई जिम्मेवार र जवाफदेही बनाउन नेतृत्व क्षमता परीक्षणका आधारमा कार्यसम्पादन करार सहित प्रधानाध्यापक छनोट र नियुक्ति गर्ने व्यवस्था गरियो भने विद्यालयहरूमा केही सुधार हुन सक्छ ।
क्षमता र दक्षता
कुनै पनि संस्था वा निकायमा नेतृत्व गर्ने व्यक्तिको क्षमता र दक्षता कस्तो छ भन्ने आधारमा त्यस्ता संस्थाको विकास निर्भर रहेको हुन्छ । हाम्रा सामुदायिक विद्यालयहरूमा सुधार आउन नसक्नुको पछाडि कहीँ न कहीँ प्रधानाध्यापकहरूको नेतृत्व क्षमता र दक्षता जोडिएकै छ । एउटा पक्रियाबाट आएका प्रधानाध्यापकलाई क्षमता र दक्षता छैन भन्दा सतही रूपमा हेर्दा नराम्रो सुनिन सक्छ । केही क्षमता र दक्षता भएका प्रधानाध्यापकका कारण विद्यालयमा सुधार आएको पनि सुनिएको छ । अधिकांश प्रधानाध्यापकहरूमा क्षमता र दक्षताको अभाव नै छ । क्षमता र दक्षता भन्दा वित्तिकै सम्बन्धित तहमा नियुक्ति भएको, उच्च योग्यता भएको, लामो समयदेखि प्रधानाध्यापक भई काम गरेको, अझ कतिपय विद्यालयमा त अंग्रेजी, गणित जस्ता हार्ड विषय लिएर नियुक्ति भएका कसरी क्षमता र दक्षता नभएका भन्न मिल्छ भन्ने प्रश्न पनि उठ्न सक्छ । उल्लेखित विषयवस्तुमा सफल हुनु र नेतृत्व क्षमता हुनु भनेको धर्ती आकाश फरक कुरा हो । कतिपय सन्दर्भमा योग्यताको आधारमा पनि व्यक्तिको क्षमताको मापन पनि हुन्छ । योग्यतालाई आधार मान्ने हो भने पनि हाम्रा अधिकांश विद्यालयहरूमा सम्बन्धित तहमा नियुक्ति भएका योग्यता पुगेका प्रधानाध्यापकहरूको अभाव छ । जनतन काम चलाउ प्रधानाध्यापक हाम्रा विद्यालयहरूमा विद्यमान छन् । असल नेतृत्वको क्षमता र दक्षता पहिचान त्यहाँ हुन्छ, जोसँग समूहकार्य गर्ने सीप, पूर्वाग्ररहित भावना, अध्ययन र लेख्ने वानीको विकास, निर्णय लिन सक्ने क्षमता, साहासी, सहानुभूतिको भावना, सकारात्मक सोच, क्षमाशील, आत्मासमीक्षा गर्ने अठोट, सधै सिक्ने चाहना जस्ता अन्तर्निहित कार्यकौशल छन् तिनीहरू मात्रै सफल नेतृत्व हुन सक्छन् । जुन कुरा हाम्रा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूमा विरलै प्राप्त गर्न सकिन्छ । त्यसकारण विद्यालय सुधारका लागि प्रधानाध्यापकको क्षमता र दक्षतामा वृद्धि गर्नु वाञ्छिनीय छ ।
समन्वयात्मक भूमिका
विद्यालयलाई यथा अवस्थाबाट सुधार गर्न नेतृत्वको समन्वयात्मक भूमिका अनिवार्य हुन्छ । समन्वयात्मक भूमिका र कार्य बिना विद्यालयमा सुधार हुन सक्दैन । हाम्रा विद्यालयहरूमा नेतृत्वको समन्वयात्मक भूमिका निकै कमजोर छ । शिक्षक, विद्यार्थी तथा अभिभावकको त्रिपक्षीय भूमिकाबाट विद्यालय सुदृढ हुन्छ तर यो तीन पक्षलाई प्रधानाध्यापकले सही समन्वय गर्न नसक्दा विद्यालयमा सुधार आउन सकेको छैन । शिक्षक स्टापलाई सही ढंगले लिड गर्न र उत्प्रेरणासहित कक्षाकोठामा प्रवेश गराउन प्रधानाध्यापकहरूले सकिरहेका छैनन् । नेतृत्व क्षमता अभावका कारण प्रशासन सही तरिकाले सञ्चालन गर्न नसक्दा विद्यार्थीहरूलाई सिकाइप्रतिको भोक जगाउन र अनुशासनमा राख्न नसकोको देखिन्छ । यस कार्य गर्न शिक्षकहरूसँग प्रधानाध्यापकले प्रभावकारी समन्वय गर्नुपथ्र्यो, त्यो भएको छैन । विद्यालयलाई सुधार गर्न अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ । २४ घण्टामा १८ घण्टा विद्यार्थी अभिभावकको साथमा रहने भएकोले अभिभावकको सम्पूर्ण अवस्था कस्तो रहेको छ, विद्यार्थीले घरमा सिकाइ वातावरण कस्तो पाएको छ, त्यसको जानकारी हासिल गर्ने र अभिभावकलाई विद्यालयप्रति जागरुक गराउन समन्वयात्मक भूमिका निर्वाह गर्न प्रधानाध्यापकहरू कमजोर देखिन्छन् ।
विद्यालय सुधारका लागि विद्यालयमा कहाँ के को अभाव छ भन्ने कुराको निक्र्यौल गरी त्यसका लागि कहाँ कोसँग कस्तो खालको समन्वय गर्ने हो भन्ने कुरामा प्रधानाध्यापकले ध्यान दिनु आवश्यक पर्छ । तर, हाम्रा विद्यालयका अधिकांश प्रधानाध्यापकहरूले त्यस कुरामा भूमिका निर्वाह गर्न नसकेको देखिन्छ । विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सुधारसँग जोडिएका विषयहरू बोध गराइ आवश्यक नयाँ कार्य गर्नको लागि समन्वय गर्नुको सट्टा नियमित प्राप्त भएका बजेट पारित गराउन तथा करार शिक्षक छनोटमा छनोट समित गठन गर्न मात्र विद्यालय व्यवस्थापन समितिसँग बढी समन्वय गरेको देखिन्छ । विद्यालयलाई आवश्यक पर्ने कुराहरूमा योजनासहित माथिल्लो निकायमा डिल गर्न तथा समन्वय गर्न प्रधानाध्यापकले सकिरहेका छैनन्, जसले गर्दा विद्यालयमा आवश्यक पर्ने बजेट एवम् अन्य सामग्रीको अभाव हुँदा सिकाइ सुधारमा बाधा उत्पन्न भएको छ । विद्यालय सुधारसँग जोडिएका विषयवस्तुको प्रभावकारी कार्यान्वयनका लागि प्रधानाध्यापकको सबैपक्षसँग सन्तुलित र समन्वयात्मक भूमिका रहन जरुरी छ ।
व्यवस्थापकीय कुशलता
व्यवस्थापकले नै सबै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । संस्थाहरूको सुधारमा व्यवस्थापकको भूमिका महत्त्वपूर्ण हुन्छ । विद्यालयभित्रका हर कुराको व्यवस्थापक भनेको प्रधानाध्यापक हो । विद्यालय सुधारका लागि व्यवस्थापकीय पाटो पनि महत्त्वपूर्ण हुन्छ । भौतिक, प्रशासनिक, शैक्षिक, वातावरणीय लगायत पक्षको कुशल व्यवस्थापनबिना विद्यालय सुधारको कल्पाना गर्न सकिदैन । धेरै विद्यालयका प्रधानाध्यापकहरू आफ्नो बस्ने कुर्सी र स्थानको व्यवस्था गर्न नै सकेको देखिदैन । यसका लागि प्रधानाध्यापकको व्यवस्थापकीय सीप उच्च हुनुपर्दछ । हाम्रा सामुदायिक विद्यालयहरूमा व्यवस्थापन सीप विकास नगरेका र गर्न नसकेका÷नचाहेका प्रधानाध्यापकहरूको वाहुल्यता बढी रहेको छ । जसले गर्दा विद्यालयमा सुधार आउन सकेको छैन । आफ्नो विद्यालयलाई भौतिक पक्षअन्तर्गत केके कुराको आवश्यक छ र तिनको कहाँबाट कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने व्यवस्थापकीय सीप र चिन्तन प्रधानाध्यापकहरूमा हुन आवश्यक छ । विद्यालय प्रशासन कस्तो गराउने भन्ने वढी हात प्रधानाध्यापकको हुने भएकोले सबै सरोकारवाला पक्षहरूको सामूहिक छलफलबाट उच्च प्रशासनिक विधि र प्रक्रियाको निर्माण गरी कार्यान्वयन गर्न गराउन प्रधानाध्यापक सक्षम हुनुपर्छ । तर, हाम्रा प्रधानाध्यापकहरूको व्यवस्थापकीय क्षमता हेर्दा आफ्ना शिक्षक स्टाफ र विद्यार्थीलाई नियमित पोषाक लगाई विद्यालय आउने वातावरणको सिर्जना गर्न समेत नसक्ने खालको छ । गुणस्तरतर्फ हेर्दा सिकाइको मूल आधार कहाँ हो, बढी जोड दिन पर्ने ठाउँ कहाँ हो भन्ने मतलब नै नगरी सनातनी रूपमा अतिरिक्त सिकाइमा जोड दिने तर नतिजा विश्लेषण गर्न कहिले पनि नसक्ने प्रधानाध्यापकको कार्यले गर्दा विद्यालय सुधारमा समस्या देखिन्छ ।
व्यवस्थापकको कुशलता जिम्मेवारी बाँडाफाँडमा निर्भर रहन्छ । हाम्रा विद्यालयका प्रधानाध्यापकहरूमा जिम्मेवारी बाँडफाँड के हो भन्ने ज्ञानको निकै अभाव छ । प्रधानाध्यापकहरूले क्षमता र कार्यका आधारमा कहिल्यै पनि जिम्मेवारी बाँडेको देखिदैन । विद्यालयको सम्पूर्ण मालिक वा ठेकेदार आफू नै भए जस्तो गरी कार्य गरेको पाइन्छ । जसले सिकाइमा प्रत्यक्ष÷परोक्ष रूपमा प्रभाव पारेको छ । प्रधानाध्यापकहरूमा आर्थिक मोहले पनि घर जमाएर बसेको छ । विद्यालयका भौतिक पक्षको निर्माण तथा अन्य आर्थिक कार्यमा खरिद समित वा निर्माण समितिबिना नै आफै कार्य गर्दा कतिपय विद्यालयहरूमा समस्या पैदा भएको देखिन्छ । क्षमता र अनुभवका आधारमा शिक्षकहरूलाई प्रधानाध्यापकले जिम्मेवारी दिएको पाइँदैन । जसका कारण शिक्षकले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका नपाउँदा विद्यालय सुधारमा प्रभाव पारेको छ । प्रधानाध्यापक व्यवस्थापकसँगै योजनाकार पनि हुनुपर्छ । अधिकांश विद्यालयका प्रधानाध्यापकहरूमा विद्यालय सुधारको नयाँ योजना नै छैन । सनातन ढङ्गले विद्यालय चलाएको देखिन्छ । नयाँ योजना निर्माण हुने भनेको विद्यालय कसरी राम्रो बनाउने भन्ने चिन्तनले हो । विद्यालयका प्रधानाध्यापकहरूमा त्यसप्रकारको चिन्तनको अभाव छ ।
प्रविधि सम्बन्धी ज्ञान र प्रयोग
आजको युग विज्ञान प्रविधिको युग हो । विज्ञान र प्रविधिबिनाको ज्ञान र सीप अधुरो साबित हुँदै गएको छ । प्रविधिबिनाको शिक्षा अबको युगमा पुरा अपुरो र अधुरो हुँदै छ । प्रविधिको प्रयोग नगर्ने विद्यालयहरूमा दिइने शिक्षा निरस प्रकृतिको हुँदै गएको छ । विद्यालय शिक्षा सुधारका लागि प्रविधिको प्रयोग अनिवार्य भैसकेको छ । हाम्रा अधिकांश सामुदायिक विद्यालयहरूमा पुराना प्रधानाध्यापकहरूको अधिक्यता छ । ती प्रधानाध्यापकसँग प्रविधिको निकै कम ज्ञान छ । प्रविधिसँग अपडेट हुँदैनन्÷चाहँदैनन् । जब विद्यालयहरूमा प्रविधिको ज्ञान नै कम भएको नेतृत्व छ भने त्यस्ता विद्यालयमा प्रविधिको विस्तार र प्रयोग निकै जटिल हुन्छ । प्रविधिको लागि के अवश्यक पर्छ, त्यसलाई कसरी पुरा गर्ने तथा कसरी प्रयोगमा ल्याउने भन्ने चिन्तन प्रधानाध्यापकहरूमा नहँुदा विद्यालयमा प्रविधियुक्त शिक्षा कमजोर बन्दै गएको छ । उही परम्परावादी शैली र तरिकाबाट शिक्षण गर्दै आएका प्रधानाध्यापकहबाट नयाँ प्रविधिबाट शिक्षण गर्नुपर्छ भन्ने भावना नै छैन । उनीहरू त्यतातर्फ अग्रसर नै हुँदैनन्÷छैनन् । जुन प्रधानाध्यापकले आफ्नो विद्यालयमामा अबको समयमा प्रविधिबाट शिक्षण गर्न योजना बनाउदैन ती विद्यालयहरूमा सुधार आउन सक्दैन । यदि विद्यालयमा योजनाकार र दूरदर्शी प्रधानाध्यापक छ÷हो भने प्रविधि सम्बन्धी उल्लेखित विषयमा ध्यान दिनैपर्छ । प्रविधिबिना गुणस्तर सम्भव छैन । यसमा प्रधानाध्यापकको ध्यान जान जरुरी छ । सुधार सम्भव छ ।
निष्कर्ष
समाज विकासको मुख्य आधार शिक्षा हो । यसको सबलीकरण नगरुन्जेल समाज नयाँ सिराबाट अगाडि जान सक्दैन । शिक्षामा सुधार ल्याउन सबैभन्दा पहिले सामुदायिक विद्यालयमा सुधार गर्न जरुरी छ । सामुदायिक विद्यालयको प्रशासकीय नेतृत्व प्रधानाध्यापक हुने भएकाले उनीहरूको नेतृत्व सम्बन्धी ज्ञान, सीप तथा योग्यतामा फेरबदल हुन नितान्त आवश्यक छ । विद्यालय व्यवस्थापन समितिको निगाहामा नेतृत्वमा पुगी सामुदायिक विद्यालय विगारिरहेका प्रधानाध्यापकहरूले पद छोड्नुपर्छ । प्रधानाध्यपाकको नियुक्ति सम्बन्धी अधिकार व्यवस्थापन समितिलाई होइन संघ, प्रदेश र स्थानीय तहलार्ई साझा रूपमा हुनुपर्छ । आजीवन एउटै विद्यालयमा प्रधानाध्यापक होइन कि कार्यसम्पादन करारका आधारमा हरेक ५÷५ वर्षमा अर्को विद्यालयको नेतृत्व लिने व्यवस्था गरिनुपर्दछ । निश्चित मापदण्डका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापकहरू छनोट हुनुपर्दछ । विद्यालयमा समन्वयात्मक क्षमता र सीप भएका शिक्षकहरूमध्येबाट प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्नुपर्दछ । आजको युगमा प्रविधि सम्बन्धी ज्ञान र सीप भएका शिक्षकहरूले विद्यालयको नेतृत्व लिन आवश्यक छ । वृहत योजनाकार, दूरदर्शी सोच, वैज्ञानिक चिन्तन, संस्थगत भावना, नेतृत्व कौशल, प्रतिस्पर्धाबाट नियुक्ति हुने चिन्तन लागायतका उच्च क्षमता भएका प्रधानाध्यापकहरू विद्यालयको नेतृत्वमा ल्याउने हो भने विद्यालयमा सुधार आउन सक्छ । धन्यवाद !