यानेन्द्र जी.सी.
प्यूठानको पर्यटकीय क्षेत्रमध्ये झिमु्रक गाउँपालिका ५ ओखरकोटले नयाँ गति लिएको छ । ओखरकोटको कोट पुग्न कोटको फेदीदेखि शिखरसम्म नागबेली आकारमा ६ सय वटा ढुंगे सिंढी निर्माण गरिएको छ । सिंढीलाई सजाउन दुवै साइडमा रेलिङ बनाइएको छ । जसरी चीनमा जाने पर्यटक एक पटक ग्र्रेटवालमा पुग्ने र तस्वीर खिच्ने गर्दछन् । त्यसरी नै ओखरकोटको सिंढीमा तस्वीर र भिडियो खिच्ने पर्यटक दैनिक आउँदछन् । धेरै पर्यटकले कोट चढ्ने सिंढीको डिजाइनलाई चीनको ग्रेटवालसंग तुलना गर्ने गर्दछन् । सिंढी चढ्दै कोट पुग्ने र झनै दैनिक सयौं आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । बस, जीप रिजर्भ गरेर आउने यात्रु उत्तिकै हुन्छन् । अधिकांश मोटरसाइकलमा आउने गर्दछन् । खासगरी सामाजिक सञ्जाल र त्यसमा पनि टिकटक बनाउनेहरू धेरै भेटिन्छन् । ओखरकोटमा कोट बाहेक तीनवटा रमणीय भू–वनोट भएका थुम्का छन् । सबैभन्दा अग्लो ठाउँमा समथर भू–भागका थुम्काको सौन्दर्य वर्णन गरी साध्य छैन । एउटा जैथुममा, एउटा हर्रे र अर्को जावुनेमा रहेका थुम्काको दृष्य कैद नगर्ने सायदै कम हुन्छन् ।
ओखरकोट पुग्नका लागि मच्छी ढाड हुँदै हिरापोखरी निस्कने सडक निर्माण भएको छ । जहाँ दैनिक यात्रुबाहक बस आवतजावत गर्दछ । अहिले आफ्नो सवारी साधन नभए पनि बसमा चढेर त्यहाँ जान सकिन्छ । ओखरकोटमा चौतर्फी सडक सञ्जाल छ । त्यहाँ पुग्ने जो कोही एक फन्को नमारी फर्किदैन । वरिपरि घुम्दा चारैतिरका रमणीय भीरपाखा देख्न सकिन्छ । यही ठाउँमा नेकपा ९मसाल० का महामन्त्री मोहन विक्रम सिंहले घर बनाएका छन् । उनकै योजनामा होमस्टे सञ्चालन गर्न घर निर्माण भइरहेको छ । यद्यपि होमस्टेको अभ्यास केही घरले यसअघि नै गरिसकेका छन् ।
ओखरकोटको नेपानेमा राष्ट्रिय स्तरको खेल मैदान बनिरहेको छ । ओखरकोट र वरपरका गाउँहरूको ग्रामीण पर्यटन विकास गर्न गुरूयोजना बनेको छ । ओखरकोटको गुरुयोजनामा कोटमा भ्यू टावर, गाउँमा रिङ रोड, रक गार्डेन, पार्कहरू बनाउने योजनाहरू बनेका छन् । ओखरकोट प्राकृतिक अवलोकन गर्न चाहाने गाम्रीण पर्यटकको उत्कृष्ट गन्तव्य हो । बाह्रै महिना चिसो वातावरण एकै स्थानमा बसेर उच्च पहाड, मध्य पहाड, महाभारत पर्वतको श्रृंखला अवलोकन गर्न सकिने ओखरकोटलाई ‘किङ्ग अफ हिल’ भनेर पनि चिनिन्छ ।
ओखरकोट गाउँको फेदीमा नागबेली आकारमा झिमरूक नदी बग्दछ भने गाउँको बीचमा गर्तङ खोला बग्दछ । दुवै नदीहरूका बीचमा रहेको ओखरकोट गाउँ अत्यन्त सुन्दर र रमणीय छ । ओखरकोटको पुरातत्व, इतिहास, संस्कृति, लोकनृत्य र लोकगीत, जनजीवन, आर्थिक अवस्था, त्यहाँ बसोबास गर्ने जातिहरू ग्रामीण विकासका सम्भावना हुन् । हेर्दै सुन्दर मानिने पहाडका चुली, मच्छी र पिडाल्नेका फाँटले ओखरकोट सजिएको छ ।
ओखरकोट गाउँको माथि अर्थात् शरीरमा कोट रहेको छ । ओखरकोट र बादिकोटको बीचमा रहेको कोटमा वडा दसैं र चैते दसैंमा पूजाआजा गर्ने र मेला लाग्ने गर्दछ । जहाँ हजारौं सहभागी हुने गर्दछन् । वडा दसैंको नवमीको दिन हुने पूजाआजामा प्यूठानका नेताहरू प्रायः त्यहाँ पुगेका हुन्छन् । दसैंका दिन सराँय खेल्ने प्रचलन छ । कोटको ऐतिहासिक र पुरातात्विक महत्व छ । जहाँ भुरे टाकुरे राजाहरू बस्ने दरबार र सभाकक्षमा अवशेषहरू अहिले पनि देख्न सकिन्छ । ओखरकोटको कोटबाट झण्डै आधा प्यूठान देखिन्छ भन्दा पनि हुन्छ । अग्लो कोटबाट चारैतिर गोलाकार रूपमा फैलिएका अग्ला पर्वतका शिखरहरू देखिन्छन् । त्यसरी देखिने पर्वतका शिखरहरूमा गुल्मी, बाग्लुङ, अर्घाखाँची र प्यूठानका विभिन्न गाउँहरू पर्दछन् ।
आजभोलि स्याङ्जाको सिरूबारी, तनहुँको बन्दीपुर र लमजुङको घलेगाउँ जस्ता क्षेत्र ग्रामीण पर्यटनका राम्रा उदाहरण भएका छन् । ग्रामीण पर्यटन विकासमा त्यो नेपालको पहिलो सुुरुवात थियो । पछिल्लो समय धेरै ठाउँमा ग्रामीण पर्यटनका लागि पहलहरू भएका छन् । तर त्यति व्यवस्थित भने भएका छैनन् । ओखरकोटमा पनि दैनिक पर्यटक आए पनि उनीहरूको बसाइँ लम्ब्याउने प्रयास भएको छैन । प्रायः बिहान आउने र साँझ फर्किने पर्यटक बढी छन् । यिनीहरूको बसाइँ लम्ब्याउन व्यवस्थित होमस्टे वा होटल सञ्चालन हुन जरूरी छ । फेदीपाटामा दुईवटा कटेज सञ्चालनमा छन् । ती नास्ता पानीका लागि मात्र योग्य छन् । व्यवस्थित बसोबास गर्ने ठाउँको व्यवस्था हुने हो भने टाढाटाढाबाट पर्यटक आउन सक्दछन् । पर्यटक आउँदा व्यवसायीको आम्दानीमा स्वतः वृद्धि हुन पुग्दछ ।
सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यसलाई व्यवसायिक बनाउन राजनीतिक दल र स्थानीय समाजसेवी भने अग्रसर हुनुपर्दछ । पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । स्थानीयले त्यस्तो वातारण तयार गर्न सक्नुपर्दछ । उनीहरूले चाहेका परिकार बनाउन तम्सिनु पर्दछ । जति पर्यटकलाई खुसी पा¥यो । त्यति पर्यटक भित्रिने छन् । खासगरी पर्यटन विकासका निम्ति संस्कृति, धार्मिक र प्रकृति यी तीन वटै उत्तिकै महत्वका विषय हुन्छन् । धर्म, संस्कृति र परम्परालाई जोगाई राख्न सकेमा मात्र पनि ग्रामीण पर्यटनको विकासको लागि सजिलो वातावरण बन्दछ ।
ग्रामीण क्षेत्रमा हुने पर्यटन छोटो अवधिको लागि भए पनि त्यसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन ल्याउँदछ । पर्यटकका लागि ग्रामीण क्षेत्रमा उत्पादन भएका अन्नबाली रोजाइमा पर्ने भएकाले त्यसले आम्दानीमा बल पु¥याउँदछ । ग्रामीण क्षेत्रमा उत्पादन हुने र ढुवानीको कारणले खपत हुन नसकेका खाद्यान्न, सागसब्जी, फलफूल, दुग्ध पदार्थलगायतको उपभोगमा वृद्धि हुन गई ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने एक सरल उपाय हुन्छ ।
ओखरकोटमा पर्यटक नआउने होइनन्, दैनिक आइरहन्छन् । तर त्यहाँ आएका पर्यटकले राम्रोसंग रात बिताउने ठाउँ छैन । केही घरमा होमस्टेको सुरुवात गरिएको छ, ती पर्याप्त छैनन् । ठूलो संख्यामा पर्यटक आउँदा बस्ने ठाउँ छैन । त्यसैले झिम्रुक गाउँपालिका र स्थानीय समुदायले पर्यटकको बसलाई लम्ब्याउने उपाय निकाल्न जरूरी छ । त्यसको लागि पहिलो कुरा खाना र बस्ने व्यवस्था हुनुपर्दछ । दोस्रो कुरा आतिथ्यता राम्रोसंग गरिनु पर्दछ । स्वागत सत्कारमा कमी आउनु हँुदैन । उनीहरूको रूचीअनुसार खानपिनको व्यवस्था हुनुपर्दछ । सुरक्षाको ग्यारेन्टी पनि हुनुपर्दछ । यसका साथै ग्रामीण क्षेत्रका पर्यटन स्थलमा पुगेपछि त्यहाँ पुग्ने मानिसहरूले केही न केही त्यस क्षेत्रको चिनो स्वरूप वस्तुहरू ल्याउन चाहान्छन् । ओखरकोट क्षेत्रलाई ग्रामीण पर्यटनको विकासका लागि स्थानीयमा कला र सीप विकास हुनुपर्दछन् । जुन सीपले उत्पादन गरेका वस्तुहरू ओखरकोट पुगेका पर्यटकहरूले किन्न सकुन । यति गर्न सकियो भने ओखरकोटले आफ्नो मुहार बदल्ने निश्चित छ ।