गोबिन्दराज पोखरेल
२०७८ सालको मङसिर महिना बिबाहको महिना जस्तै भयो । मङसिर ५ गते कान्छि बहिनीको छोरा र जेठी दिदीको कान्छो छोराको बिबाह मङसिर १३ मा थियो । मङसिर ५ गतेको बिबाहको लागी ४ गते नै काठमाण्डौ प्रस्थान गरियो । भैरहवासम्म भाइ र म ४ बजेकै हवाइ यात्राको लागी दौडिएकोमा ३ नबज्दै भैरहवा पुगेका थियौं सञ्जोग भनौ हामीलाई ४ बजेसम्म कुर्न परेन अगाडिकै बोडिङ पास पाइहालियो र काठमाण्डौको बिमानस्थलमा ४ नबज्दै उत्रीहालियो ।
मङसिर ५ गते बिराटनगर जन्ती जानु पर्ने र बिहानको ८ बजे नै बिमानस्थल पुगिसक्नु पर्ने भएकोले सबैलाई जन्ती जाने हतारोमा राम्रै हुन पर्ने तर म यस कुरामा अलि कमजोर नै छुँ । मेरो सटरपटर र ढिलाइले गर्दा बेहुलालाई मामाको हातबाट टिका लगाउन तारन्तार हुन थाल्यो । म गोज्याँग्रे पारा छाडेनछु तै पनि मैले टिका लगाइसके पछि जन्ती प्रस्थान गरिहाल्यो र बिमानस्थलतिर हुँइकियौ । मलाइ अचम्म लागी रहेको थियो किन जन्ती पनि हवाइ यात्राबाट गर्नु परेको होला ? एउटै जन्तीको आउने जाने टिकट नै ८००० थियो । यति धेरै खर्च नगरेको भएपनि हुन्थ्यो भन्दै थिए बिमान स्थल पुगिहाल्यौं । सामाजिक व्यबहार सुधार ऐन अन्र्तगत त राज्यको मापदण्ड पालना गरेका थियौं तर हवाइ यात्रालाई भडकिलो मानेको थिए तर बिमानस्थल पुग्दा त म झन अचम्म परे त्याहाँ त अरु १० जना बेहुलाहरु सजिएर बसेका रहेछन । कोही बुद्ध एअर, कोही यति , कोही सीता बिभिन्न एअरलाइन्सको यात्रामा पालो कुरी रहे.का रहेछन । कोही भद्रपुर , कोही वीरगंज कोही जनकपुर, कोही बिराटनगरको लागी सजिएर बसेका रहेछन । बिमानस्थलको प्रतिक्षा कक्ष खचाखच जस्तै थियो । बोर्डिङ पास लिएर भित्र जाँदा सरकारले सुरक्षाको कारण देखाइ सबैको जुत्ता , बेल्ट , गरगहना , घडी पर्स सबै निकालेर स्क्यानिङमा राख्न पर्दो रहेछ त्यो पनि हाम्रा लागी अर्को नयाँ कुरा हुन पुग्यो । ९ बजेको बिमान उडान १० बजेको लागी समय सरयो । बिराटनगरको बिमानस्थल खुल्न अनिबार्य रुपमा तराईको त्यस क्षेत्रको अर्को बिमानस्थल खोल्नै पर्ने हुँदो रहेछ तर तराइमा हुस्सु लागेका कारण बिमान उडान नभएको जानकारी भयो । आपतकालिन रुपमा जहाज अबतरण गर्नु परयो भने त्यसको सुरक्षाको लागी गरिंदो रहेछ । हामी झण्डै २ घण्टाको प्रतिक्षा पछि बिराटनगरको लागी प्रस्थान गरयौं । झण्डै ११ बजे बिमानबाट ओर्लिएका हामी बिबाह स्थलमा पुग्दा १ बजिसकेको थियो । हाम्रो बेहुली भोजको खाना साकाहारी थियो । बेलुका ५ बजे हामी काठमाण्डौ फर्कने टिकट बुद्ध एअरबाट लिएको खबर पाएका थियौं र बिबाह गराउने ब्राहमणलाई ४ बजे नै सकाइ बेहुली अन्माउने सम्झौता भै सकेको थियो । ब्राहमणले त्यस कुरालाई सहजै स्वीकारेका थिए । अन्तःत बेहुली ४ बजे नै अन्माइ दिए । हामी ५ बजे नै बिमानस्थल पुगिसकेका थियौं तर हाम्रो जहाज कतिबेला उडछ भन्ने कसैलाई जानकारी रहेन । २ बजे उडनु पर्ने यात्रुहरु पनि बिमानमा जान पाएका थिएनन । हामीलाई पनि बिमानस्थलमा कुर्नु पर्ने कुनै नौलो लागेन । फर्कदा पनि ४ जोडी बेहुला बेहुली फेरी बिमानस्थल मै भेटिए । सानो छंदा सुनेका थिए २ जना बेहुलाको सम्मुख भेट हुनु हुदैन भन्ने । यदि नजिक भेट हुने अबस्था आएमा छाताले एउटा बेहुलाको मुख अर्को बेहुलाले नदेख्ने गरी छोप्नु पर्ने तर बिमान स्थलले नयाँ संस्कार जुराइ सकेको रहेछ कसैको मुख ढाक्नै नपर्ने । हामीले ८ बजे जाहाजमा चढने मौका मिल्यो । बिराटनगरबाट उडेका हामी काठमाण्डौमा ओर्लनु पाउँछौ भनेको त काठमाण्डौको बिमानस्थल ट्राफिक जाम भन्दै बिमानलाई बिसाउनै दिएनन । अँध्यारो र निछम्म रातमा पटक पटक काठमाण्डौको वरीपरी घुमाइ राख्यो झण्डै ४० मिनेट आकासमा घुमाउँदा धेरै यात्रुको मुख हेर्न लाएकको नै थियो । पुरै थाकेको जस्तो अनुहार देखिएको थियो । बिमानबाट आर्लेर बल्लतल्ल १० बजे घरमा पुग्यौं । एउटा भाञ्जाको बिहे अबिस्मरणीय नै रहयो । २०७८ साल मङसिर ६ गते सम्बन्ध शुरुवात अर्को अर्थमा इङगेजमेण्ट थियो । दिउसो ११ बजे बानेश्वरबाट प्रस्थान गरी ललितपुरको झम्सीखेलमा पुरैदिन अत्यन्त रमाइलोको साथ बितेको थियो । मामसाहरी र अत्यन्त रोमान्सका साथ अगाडि बढेको यो कार्यक्रम सबै नातेदारसंग भेटने मिलनबिन्दु रहेको थियो ७ गते प्रितिभोज पश्चात फेरी पनि काठमाण्डौको बसाइ लम्बिएको थियो । छोरीको घर मेलम्ची पनि भएको र २०७८ साल आषाढ १ गतेबाट मेलम्चीले एउटा ताण्डब नृत्य मच्चाएको बिभिन्न सञ्चार माध्यमले देखाइरहेका थिए । छोरी र ज्वाँइले मेलम्ची जान आग्रह गरेकै कारण फेरी पनि मेलम्ची जाने उत्सुकत्ता जागेको हो ।
२०७८ साल मङसिर १० गते मेलम्चीतिर लाग्यौ । जिरो किलोबाट उत्तरतर्फ जानु पर्दो रहेछ । काठमाण्डैबाट झण्डै २ घण्टामा मेलम्ची छोरीको घरमा पुगियो । दाजु, छोरी ज्वाइ, भतिजी छोरी र ठुलो ज्वाइ आफैले हाँकेको गाडीमा छोरीको घरसम्म पुगेकोमा खुशी त थियौं नै त्यो भन्दा कौतुहलता मेलम्चीले गरेको वित्यासलाई हेर्नु थियो । सम्धी सम्धिनीको बेलुकाको आतिथ्यता ग्रहण पछि त्यस दिनको आरामदायी यात्रालाई बिश्राम लियौं । २०७८ मङसिर ११ को बिहान मेलम्चीको ढकाल खहरेबाट झण्डै ४ कि.मि अगाडि जाँदा मेलम्चीको ताण्डब नृत्य देखिदो रहेछ । मेलम्ची इन्द्रावतीमा मिसिन आउने दोभान नै मेलम्ची बजार रहेछ । करोडौ लगानीमा बनेका लज , होटल र घरहरु बेउली अन्माएको घर जस्तै देखिन्थ्यो । २०७२ सालको भुकम्पले मेलम्चीको एउटा खुशी खोसी सकेको रहेछ फेरी यसपालीको बाढीले अर्को खुशी खोसेको आभाष हुन्थ्यो । एउटा झोलुङ्गे पुलको जम्मा उचाइ कति हुन्छ सहजै अनुमान गर्न सकिन्छ । मेलम्चीले बगाएको गेग्रान माटोहरु थुपार्ने स्थान भनेकै मेलम्ची बजार , त्याहाँ रहेका खेत र सबै जमिनहरु नै रहेछ । झोलुङ्गे पुलको माथिल्लो टुप्पो समेत बाङ्गिने ढुङ्गाको छालहरु पुगेको दृश्य देख्दा सपना जस्तै हुन पुग्यो । पुख्र्यौली खेतबारीमा बढेमाका ढुङ्गा र बालुवा , कतिपय २।३ तले घरको छानो मात्र देखिने र कतिले डोजर एक्साभेटर लगाएर घरको स्वरुप देखाएका रहेछन । खोलाको भाग भन्दा निकै माथि खासा जाने सडकको बाटो छेउका कतिपय घरहरु जगबाटै डङरङ्ग लडेको देख्दा मन अमिलो भएर आयो । मेलम्चीमा पानी होइन ढुङ्गा र माटो बगेको रहेछ । मैले जुम्लामा मुगु कर्णाली र उर्थु खोला हिउँ पग्लेर खोला सुसायको देख्दा आश्चर्यमा परेको थिएँ तर मेलम्चीमा ढुङ्गा र माटोको भेल अडिने स्थान भनेकै मेलम्ची बन्न पुगेछ जसलाई म अचम्म मानेर हेरीरहे । मेलम्ची बजारबाट झण्डै १७ कि.मि. उत्तरबाट मेलम्चीको पानी शुरुङ मार्गबाट छेंडदै काठमाण्डौ ल्याइएको रहेछ हामी उक्त स्थानसम्म त पुगेनौ तर त्यसले मलाई केही कुराले भने अबश्य कुतकुतायो ।
१. ०७२ सालको भुकम्पले सिन्धुपाल्चोक जिल्ला नै थिलो थिलो पारेको रहेछ त्याहाको कुनै पनि परम्परागत रुपमा बनेका पुराना घरहरु एउटा पनि देख्न सकिएन । सबै घर भुकम्पले भत्काइ सकेको रहेछ । यसरी अहिलेको जमिनको अबस्था र भोलीको जोखिम के हुन सक्छ भन्ने सम्बन्धमा भुकम्प पछिको पुन निर्माणको आखा पनि पुग्न सकेन केबल बनेका घरलाई पैसा बितरण गर्ने खेलमै लागेको देखियो । पहाडको थुमका एबं चिरा परेका स्थानलाई कसरी कम जोखिम बनाउने हो सो सम्बन्धमा नत अध्ययन नै देखियो न त कुनै कार्य सरकारी तवरबाट भयो जसको सम्पुर्ण क्षती मेलम्चीले व्यहोर्नु परयो ।
२. मेलम्चीले थुपारेको ढुङ्गा बालुवालाई व्यबस्थित बनाई कसरी त्याहाका मान्छेलाई आय आर्जन गराउने माध्यम बनाउन सकिन्छ सो सम्बन्धमा पनि कुनै योजना बनाएको देखिएन । केही धनाडय व्यक्तिहरुले खोलामै क्रसर राख्ने र सीमित व्यक्तिले क्रसर रोडा ढुङ्गा बालुवा बेच्नलाई मात्र अबसर दिएको देखियो आम नागरिक प्रति फेरी पनि उत्तर दायित्व बहन गरेको पाइएन ।
३. आगामी बर्सातमा पनि फेरी ढुङ्गा र माटोको भेल आउन सक्छ र त्यो भेलले फेरी कस्तो असर पुराउन सक्छ भन्ने सम्बन्धमा राज्यको आँखा पुग्न सकेको पाइएन । फेरी अर्को बिनास निम्तिए अरुणा लामाको गीत “यस पाली त मनै फाटयो के ले सिउने के ले टाल्ने हो” भन्ने हुनेछ ।
एघार गते मेलम्चीको ताण्डब हेरे पछि १२ गते एउटा भाञ्जिको बिहे निम्तो मान्नु पर्ने थियो । त्यसैले काठमाण्डौ फर्कियौ १२ गते भाञ्जी , १३ गते भाञ्ज फेरी १४ गते अर्को भाञ्जीको बिहे र १४ गते नै भाञ्जको प्रिति भोजलाई साक्षर बन्दै मेरो यात्रा फेरी घरतर्फ मोडिन पुग्यो । बिबाहको निम्तो र रमाइलोसंगै मेलम्चीको यात्रा मेरा लागी सधै अबिस्मरणीय नै हुनेछ ।
यात्रा स्मरण: निम्तामा मेलम्चीको यात्रा
यात्रा स्मरण: निम्तामा मेलम्चीको यात्रा
Advertisement
तपाईको प्रतिक्रिया