महावीर राना
२०७८ पौष ११ गते देखि १८ गते सम्म क्रान्तिकारी पार्टी र बिचार निर्माणका सन्दर्भमा सघन छलफल र बहस पछि “एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो” कार्यक्रम पारित गर्दै तथा प्रचण्डको नेतृत्वमा नयाँ केन्द्रिय समिति चयन गर्दै नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन नयाँ कार्यदिशा, नयाँ विचार संश्लेषण र क्रान्तिकारी पार्टी निर्माणको लागि कोशेढुङ्गा साबित भएको छ । एक्काइसौँ शताब्दीमा वैज्ञानिक समाजवादको स्वरूप कस्तो हुन्छ ?
स्थानीय प्राकृतिक स्रोत साधनको
परिचालन, स्थानीय अर्थतन्त्रको विकास, ग्रामीण औद्योगिकीकरण,कृषि क्षेत्रको आधुनिकीकरण र व्यबसायीकरणका माध्यमबाट आर्थिक समृद्धि तथा समाजवादको आधार निर्माणको नीति तय गर्छ कि गर्दैन ? रुपान्तरण सहितको क्रान्तिकारी नेतृत्व निर्माण गर्छ कि गर्दैन ? पार्टीमा विकृति,विसंगति र विचलनहरूका सन्दर्भमा निर्मम समिक्षा गर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने आधार तयार गर्छ कि गर्दैन ? बर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सही विश्लेषणका आधारमा नेपाली क्रान्तिको मौलिक विचार संश्लेषण गर्छ कि गर्दैन ? अथवा एक्काइसौँ शताब्दीमा समाजवाद निर्माणको क्रान्तिकारी कार्यदिशा निर्माण गर्छ कि गर्दैन ? यी र यस्ता यक्षप्रश्नहरुको गहन छलफल र वहसका बीचबाट सही निष्कर्ष दिन आठौं महाधिवेशन सफल भएको छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष भनेको रुपान्तरण हो । एक्काइसौं शताब्दीमा समाजवादी क्रान्ति सफल पार्न योग्यतम पार्टी निर्माण पार्टीको क्रान्तिकारी रुपान्तरण बाट मात्रै सम्भव छ । अब जनतामुखी कार्यकर्ता र कार्यकर्तामुखी नेताको नीति माओवादी शैली हुनेछ । नेता कार्यकर्ताको रुपान्तरणबाट पार्टीको रुपान्तरण र पार्टीको रुपान्तरणबाट समाजको रुपान्तरणको आधार तयार हुनेछ । कम्युनिष्ट नैतिकता, क्रान्तिकारी चरित्र, अनुशासन, सांस्कृतिक चेत, आत्मनिर्भरता,सैद्धान्तिक बैचारिक स्पष्टता नेताकार्यकर्ताको क्रान्तिकारी रुपान्तरणका महत्त्वपूर्ण पहलुहरु हुन् ।
मुहान नै फोहोर भएपछि तल सफा हुने कुरै भएन । त्यसैले रुपान्तरणको सुरुवात मुख्य नेतृत्व बाट गर्नुपर्छ ।अध्यक्ष कमरेड प्रचण्डले क्रान्तिकारी रुपान्तरणको सुरुवात आफै बाट गर्ने र सुबिधासम्पन्न डेराबाट बाहिर आउने संकल्प गर्नुले माओवादी पार्टी पुनः जनताको आशाभरोसाको पार्टी बन्ने अपेक्षा गर्न सकिन्छ । संगठनमा आलोचना आत्मालोचनाको बिधीलाई पुनस्थापित गर्ने, लाभहानीका आधारमा राजनीतिको यात्रा गर्ने व्यक्तिवादी, पदलोलुप प्रवृत्तिलाई दुरुत्साहित गर्दै समानुपातिक समावेसीता,योग्यता,योगदान र पार्टीमा निरन्तरता जस्ता पक्षहरुलाई पार्टी जिम्मेवारीको आधार बनाउने निर्णय पनि माओवादी रुपान्तरणको अर्को आधार बनेको छ ।
भुमण्डलिकृत एकाधिकार बित्तीय साम्राज्यवादले सृजना गरेका समस्याहरु समाधान,पर्यावरण विनाश र जलवायु परिवर्तनका असरहरुको न्युनिकरणका लागि सरोकार र पहलकदमी जस्ता विषयहरुमा आठौं राष्ट्रिय सम्मेलनले निर्माण गरेका दृष्टिकोणहरु माओवादी आन्दोलनका अन्तर्राष्ट्रिय आयाम बनेका छन् । संविधानको मौलिक अधिकारमा समावेस भएका शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता विषयहरुमा राज्यलाई जबाफदेही बनाउदै शिक्षा, स्वास्थ्य,रोजगारी सम्बन्धि राज्यका नीतिहरुलाई समाजवादउन्मुख बनाउने अभियानको नेतृत्व लिने निर्णय आठौं राष्ट्रिय महाधिवेशनको एउटा महत्त्वपूर्ण पक्ष हो । र असाध्यै महत्त्वपूर्ण विषय भनेको नेतृत्व निर्माणको प्रश्न हो । मुलुकमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशिता प्राप्तिका लागि बलिदानपुर्ण संघर्ष गरेको माओवादीले संबैधानिक व्यबस्था भन्दा एक कदम माथी उठेर पचास प्रतिसत समानुपातिक प्राबधान राखी सर्बसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । आठौं महाधिवेशनमा उत्पीडित बर्ग,जाति,क्षेत्र र समुदायबाट नेतृत्व विकासका लागि माओवादीले गरेको अभ्यास बाट यी समुदाय जागृत र उत्साहित भएका छन् । सबै बर्ग,जाती,क्षेत्र,लिङ्ग र समुदायको सामुहिक बलमा मात्र बलियो क्रान्तिकारी पार्टी निर्माण गर्दै समाजवादको लक्ष्यमा पुग्न सकिन्छ । यसर्थ आठौं राष्ट्रिय महाधिवेशन माओवादी पार्टीका लागि समाजवादको प्रस्थानबिन्दु बनेको छ ।
पार्टी इतिहासको निर्मम समिक्षा,आजको सामाजिक अन्तर्बिरोधहरुको तथ्यपरक बिष्लेषण सहित त्यस्को सही समाधानका लागि क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माणको सुस्पष्ट दृष्टिकोण निर्माण ,समाजवादको आधार तयार गर्न पार्टीले पूरा गर्नुपर्ने कार्यभारहरुको स्पस्ट खाका सहितको कार्यनीति र रणनीतिको तय गर्न आठौं महाधिवेशन सफल भएको छ । यो प्रस्थापनाले माओवादी पार्टीलाई साच्चिकै अर्थमा नयाँ ठाउँमा उठाउनेछ । तर यस्को एउटामात्र सर्त महाधिवेशनका निर्णयहरुको इमानदार कार्यान्वयनका लागि माओवादी नेतृत्व र कार्यकर्ता पंक्ति तत्पर हुनुपर्छ । जनखाेजी साप्ताहिक (लेखक माओवादी केन्द्रका नेता हुन, राजनीतिक तथा समसामयिक विषयमा स्तम्भ लेख्दै आएका छन् ।)
समाजवादको बाटोमा माओवादी केन्द्र
समाजवादको बाटोमा माओवादी केन्द्र
Advertisement
तपाईको प्रतिक्रिया