प्युठान ।पश्चिम नेपालका तीन प्रमुख धार्मिक क्षेत्र गुल्मिको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने निर्णय गरिएको छ ।
शुक्रबार प्यूठानको झिमरुक गाउँपालिकाले आयोजना गरेको तीनवटै जिल्लाका यातायात व्यवसायीहरुबीच भएको बैठकले प्युठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई जोड्ने गरेर सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको हो ।
स्वर्गद्धारी–मच्छि–सौतामारे हुँदै गुल्मीको रेसुंगा, स्वर्गद्धारी, सुपादेउराली र झिमरुकको मच्छि–कौछेटारी–बौडाहुँदै अर्घाखाँची सुपादेउरालीसम्म यातायात संचालन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । तीन जिल्लाका धार्मिक पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, सुपादेउराली र रेसुंगालाई एक आपसमा जोड्नका लागि सार्वजनिक यातायात सेवा संचालनमा पहल थालिएको उपाध्यक्ष पोख्रेलले बताए ।
यातायात संचालन भएपछि तीन छिमेकी जिल्लाको पर्यटनमा प्रवर्द्धन हुने बताए । यो रुटमा नियमित सवारी साधन चलेपछि तीन जिल्लामा रहेको धार्मिक पर्यटकीय गन्तव्यको यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।
प्यूठानको जुम्रीबजारदेखि मच्छि हुँदै गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदह र अर्घाखाँचीको सन्धिखर्कका लागि खलंगा जोगीटारी हुँदै जीप नियमित संचालन भइरहेपनि पर्यटकीय स्थल लक्षित यातायात संचालन थिएनन् । तीनवटै जिल्लाका नागरिकहरुले यी पर्यटकीय स्थललाई एक आपसमा जोड्ने गरी गाडी संचालन गर्न वर्षौअघि देखि माग राख्दै आएका थिए ।
छलफलममा गौमुखी स्वर्गद्धारी यातायात प्रा.लि प्यूठान, देउराली यातायात अर्घाखाँची र गुल्मी यातायातका पदाधिकारीहरु सहभागी थिए । हाल निर्माणधिन अवस्थामा रहेको मदन भण्डारी राजमार्ग सम्पन्न भइसकेपछि यातायात संचालन गर्न अझ सहज हुने व्यवसायीहरुको आशा छ । यातायात संचालन गर्नका लागि पहिलोपटक झिमरुक गाउँपालिकाको अगुवाईमा तीनवटै जिल्लाका व्यवसायीहरुलाई छलफल गराएको हो । बैठकले आगामी फागुन १ गतेदेखि नियमित यातायात सेवा संचालन गर्ने निर्णय गरेको हो ।