प्युठान
श्रीमानको मृत्युपछि १२ वर्षदेखि कुवेतका काम गरिरहेकी ऐरावती गाउँपालिका ४ तिल्केनीकी उमा विश्वकर्माको दैनिकी शुक्रवार पनि नियमितजस्तै चलिरहेको थियो । १३ वर्षअघि ज्याला मजदुरीमा गएका श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उमाले ५ सन्तान हुर्काउन कुवेतमा काम गर्दै आएकी छिन् ।
शुक्रवार दिउसो सदाजस्तै काम गरिरहेका बेला उनले आफ्नो जेठो छोराको फोटो फेसबुकमा देखिन् । आफैले कुवेतमा दुःख गरेर कमाएको पैसाले काठमाण्डौमा डिग्री पढिरहेको २६ वर्षीय छोरो सङ्घीय संसदमा सिफारिस भएको भनेर बधाई दिएको कुरा उमालाई पत्यारै लागेन । एक छिनमा धेरैले पोष्ट गरिदिएपछि बल्ल उनले ‘के रैछ बुझौँ न त !’ भनेर छोरालाई फोन गरिन । काठमाण्डौ कीर्तिपुर कोठा भाडामा बसेर पढिरहेका छोरा प्रेम बहादुर विश्वकर्माले आफू सहित ७ जनालाई पार्टीले सांसदका लागि सिफारिस गरेको भनेपछि बल्ल उनलाई ‘छोरो नेता भएछ’ भन्ने लाग्यो ।
छोरो संसदमा सिफारिस भएको आमा उमालाई पत्यार नलागेजस्तो २६ वर्षीय प्रेमको विगत पनि अरूले विश्वास गर्न गाह्रो लाग्ने सङ्घर्षपूर्ण छ । गरिब परिवार र दुर्गम गाउँमा जन्मिएका उनी जन्मेदेखि(२०५६) नै बुवा ओमबहादुर माओवादीमा लागे । अभाव त पहिलेदेखि थियो नै, जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएकाले उनको परिवारमा राज्य पक्षको दमनको डर पनि थपियो ।
केही वर्षपछि शान्ति प्रक्रिया आयो । नेता कार्यकर्ता सबैका दैनिकी फेरिए तर, ओम बहादुरको हैसियत भने फेरिएन । उनी पुरानै पेसा ज्याला मजदुरीमै फर्किए । ज्याला मजदुरीकै क्रममा अर्को गाउँ पुगेका बेला दुर्घटनामा २०६८ साल पौषमा उनको निधन भयो ।
त्यति बेला जेठा छोरा प्रेम १२ वर्षका थिए । श्रीमान् गुमाएकी आमा र सहारा खोजिरहेका भाइबहिनीको अनुहार देखि पछि प्रेमले घरको जिम्मेवारी आफ्नै काँधमा आएको सम्झिए र जे काम मिल्छ त्यही गर्नुपर्ला भनेर भारततर्फ लागे ।
१ वर्ष भारतमा काम गरेपछि उमाले छोरालाई घर फर्काइन र आफू विदेश जाने निधो गरिन् । कुवेतका लागि भिजा लाग्यो । १३ वर्षको जेठो सन्तानको जिम्मामा बाँकी ४ सन्तान छोडेर उमा विदेश उडिन् ।
अभाव, सङ्कट, विभेद र सङ्घर्षलाई जन्मने वित्तिकैदेखि झेलिरहेका प्रेम पुनः पढाइमा फर्किए । पढाइसँगै विद्यालयमै हुने बालक्लव र रेडक्रसमा सक्रिय भएका उनमा सानैदेखि बालबालिकाले भोगिरहेका समस्या समाधान हुनुपर्ने चेतना पलाइरहेको थियो । किनकि गरिबी, सामाजिक असमानता र प्रत्यक्ष अभिभावकत्वको अभाव उनले राम्ररी महसुस गरेका थिए ।
२०७३ सालमा जिल्ला बाल सञ्जाल गठन भयो र उनी अध्यक्ष बने । प्यूठानमा बालविवाह न्यूनीकरण र बाल श्रम अन्त्यका लागि प्रेमले निकै मेहनत गरे । १७ वर्षको किशोरको सक्रियताले जिल्लाका राजनीतिक दल र प्रशासनको ध्यान पनि तान्यो । ४ वर्ष सञ्जालको अध्यक्ष भएका उनी बाल्यकालमै जिल्लाभर सबैले चिन्ने पनि भए ।
समुदायमा रहँदा होस वा जिल्लामा अध्यक्ष हुँदा बालबालिकाको क्षेत्रमा उनको प्रयासले चर्चा र प्रभाव बनाए पनि सोचेजस्तो नभएको लागेको थियो । त्यसपछि प्रेमलाई लाग्यो ‘राजनीति गरेर सत्तामा नपुग्दै आफूले चाहेजस्तो गर्न सकिन्न ।’ र उनी बिस्तारै माओवादी निकट विद्यार्थी सङ्गठनमा सक्रिय हुन थाले ।
१२ कक्षासम्म मुक्ति मावि रातामाटा र स्नातक स्वर्गद्वारी क्याम्पसमा पढेका उनी २०७८ सालमा माओवादी निकट अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बने । पढाई र सङ्गठनका काम सँगसँगै अगाडी बढाएका उनी पढाइमा सधैँ अब्बल हुन । स्वर्गद्वारी क्याम्पसमा प्रथम भएका उनी छात्रवृत्तिमा राजनीति शास्त्र स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरिरहेका छन् ।
२६ वर्षका उनलाई नेपाली कम्युनिस्ट पार्टीले जेनजी(नवयुवा) अन्तरगत प्रतिनिधि सभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि सांसदमा सिफारिस गरेको छ । उनीसहित प्युठानबाट ७ जनाको नाम सिफारिस भएको छ ।


