केशर सुनार
जेठ ३० प्यूठान ।प्यूठानको प्यूठान नगरपालिकाले आफ्ना पालिकाअन्तर्गतका दुर्गम बस्तीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।बुधबार प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नं-६ माझकोटका दुर्गम बस्तीका जनतालाई एकदिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरि जनतालाई सेवा प्रवाह दिईएको हो।
विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले नगरपालिका अन्तर्गत रहेका दुर्गम वस्तीमा रहेका जनताहरुको हरेक ठाउँ-ठाउँमा शिविर सञ्चालन गरि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए। आफ्नो पालिकाका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो।
नगरपालिकाको वडा नं-६ माझकोटको श्री धर्मावती माध्यमिक विद्यालय लम्छ्याङनेटामा सम्पन्न भएको नि:शुल्क स्वास्थ्य शिविरमा २ सय ६८ जनाले स्वास्थ्य सेवा लिएका छन्।त्यसमध्ये २ सय जना महिला र ६८ जना पुरुषले स्वास्थ्य परिक्षण गराएका हुन् ।शिविरमा ५० जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच,६९ जना महिलाको स्कृनिङ पाठेघरको समस्याको चेकजाँच गर्दा ७ जना पाठेघर खसेका बिरामीको परिक्षण गरी उपचार गरिएको छ।त्यस्तै २ सय १७ जना बिरामीको सुगर जाँच गर्दा ९ जना सुगर भएका बिरामी पत्ता लागेका छन।१८ जना ब्लड प्रेसर बढी भएका बिरामी,२० जना ग्यास्ट्रीकका बिरामी,२२ जना छाला सम्बन्धि समस्या भएका बिरामी,१२ जना बच्चा,१ सय ८ जना हाडजोर्नीका बिरामीको उपचार गरि औषधि वितरण गरिएको छ।
साथै १२ जना गर्भवती महिलाको भिडियो एक्सरे सेवा गरिएको छ।शिविरमा नाक,कान,घाँटी,दम,खोकी र टाउको दुखेको सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ।स्वास्थ्य परिक्षण गरिएका बिरामीलाई उपचार एवम् औषधि वितरण गरिएको छ।साथै आवश्यक समन्वयका लागि जिल्ला अस्पताल प्यूठानमा जानका निम्ति आग्रह गरिएको शाखाले बताएको छ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताए। नगरप्रमुख योगीले नगरक्षेत्रमा शिक्षा,स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा नगरपालिका विशेष जोडबलका साथ लागेको समेत बताए।उनले भने, ‘हामी जनताका सेवक हौं,तपाईको सेवामा हरपल खटिनेछौं।’
कार्यक्रममा बोल्दै नगरउपप्रमुख देवेन्द्र वर्माले शिविरबाट सबै नागरिकहरु लाभान्वित हुन आग्रह गरेका हुन् ।उनले भने, ‘आफ्ना नागरिकको शिक्षा,स्वास्थ्य र रोजगारीमा जनप्रतिनिधिको दायित्व हुनुपर्ने बताए।’
नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी,उपप्रमुख देवेन्द्र वर्मा,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी,जिल्ला अस्पताल प्यूठानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल लगायत विभिन्न विशेषज्ञ डाक्टरहरुको उपस्थिति रहेको थियो।