बबिता रिजाल
भाद्र १ , प्युठान ।
स्वर्गद्वारी नगरपालिका ५ सारी राजस्व सङ्कलनका लागि गाउँटोलमै पुग्ने भएको छ। वडामार्फत उठाइने घर , जग्गा तथा अन्य व्यवसायिक कर तिर्न वडाबासीलाई टाढा टाढाबाट वडामै पुग्दा समस्या हुने भएकाले वडाले टोलमै पुगेर राजस्व उठाउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताउनुभयो। वडाको गुणस्तरीय तथा सहज सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत यसअघि घरमै सामाजिक सुरक्षा भत्ता नवीकरण , घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्यक्रम गरेको र अबको क्रममा टोलमै पुगेर राजस्व सङ्कलन गर्ने कार्यक्रम लिएको पनि उहाँले बताउनुभयो। सामान्यतया असोज महिनाभित्रै कर तिर्नेहरूका लागि ५% छुटको व्यवस्था छ। तर नागरिकले समयमै कर नबुझाउँदा हर्जना अथवा जरिवानामा परि बढी रकम बुझाउनुपर्ने समस्या देखिएको पनि अध्यक्ष घर्तीले बताउनुभयो ।
उहाँका अनुसार यही भाद्र ६ गते जनशिशु कल्याण प्रावी सिस्नेरी , भाद्र ७ गते नेरा आधारभूत विद्यालय स्यानी लेख , भाद्र ९ गते बिहान १० बजेदेखि १ बजेसम्म झोल भाद्र ९ गते नै दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म गायखर्क , भाद्र ११ गते नेरा आधारभूत विद्यालय डाँफेधारा , भाद्र १२ गते खोलाखेत , भाद्र १३ गते जनता प्राथमिक विद्यालय जरुवाखेत , भाद्र १४ गते पाैवाली टोलमा पुगेर राजस्व संकलन गरिने छ । वडा कार्यालय नजिकका नागरिकले भने वडा कार्यालयमै राजस्व बुझाउने छन्।
असोज महिनाभित्र राजस्व बुझाउँदा ५% छुट हुने भएकोले र नागरिकलाई जरिवानामा पर्नबाट बचाउने उद्देश्यले टोलमै पुगेर राजस्व संकलन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको वडा अध्यक्ष गिरबहादुर घर्तीको भनाइ छ ।