हरिप्रसाद भण्डारी
नेपालको संविधान २०७२ जारी भएको १० वर्ष ५ महिनापछि नेपालले पहिलोपटक एकल बहुमत सहित झण्डै २ तिहाईको सरकार पाउने भएको छ ।
३ वर्षअघि काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित बालेन्द्र शाहले यसअघि भारी मतले विजयी भएका, र अघिल्लो निर्वाचनमा लोकप्रिय मतमा पहिलो र संख्यामा दोश्रो बनेको दलले भावि प्रधानमन्त्रि घोषणा गरेका केपी शर्मा ओलीलाई पराजित गरेर संसदमा प्रवेश गरी प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।
त्यसोे त शाहलाई पनि राष्टिय स्वतन्त्र पार्टीले भावि प्रधानमन्त्रिकै रुपमा अगाडी सारेको थियो । त्यसकारण पनि झापा ५ को चुनाव प्रधानमन्त्रिका उम्मेदवारसंग प्रधानमन्त्रीकै उम्मेदवारको लडाई भयो ।
नयाँ संविधान जारी भएपछि सबैभन्दा बढि समय ५ वर्ष ४ महिना १५ दिन भन्दा बढि मुलुकको प्रधानमन्त्रि बन्नुभएका केपी शर्मा ओलीलाई पराजित गरेर झापा ५ बाट बालेन शाह निर्वाचित हुनुभएको हो ।
बालेन शाहको विजय र बैकल्पिक शक्तिबाट मुलधारको शक्तिमा राष्टिय स्वतन्त्र पार्टीको उदयसंगै ठुला भनिएका पुराना दलहरु कमजोर हालतमा पुगेका छन् । भने, राजनीतिक शक्ति संचयमा नसोचेकै उथलपुथल निम्तिएको छ ।
केहि दिनमै प्रधानमन्त्रि बन्नुहुने बालेन शाह बच्चा हुँदा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्रि हुनुभएका, राजतन्त्रमा ३ पटक र गणतन्त्रमा २ पटक गरी ५ वर्ष ६ महिना यो मुलुकको प्रधानमन्त्रि हुनुभएका अघिल्लो प्रतिनिधि सभाको सवैभन्दा ठुलो दलको संसदिय दलको नेता शेर बहादुर देउबा यसपटक टिकटै नपाएर चुनावमा भोट नहालि सिंगापुर पुग्नुपर्यो ।
अघिल्लो प्रतिनिधि सभामा तेश्रो दलको संसदिय दल नेता भएर पनि प्रधानमन्त्रि बन्नुभएका पुष्पकमल दाहाल प्रचण्ड रुकुमबाट विजयी बनेपनि पुरानो शक्ति भने साथमा रहेन । ३ पटक गरी ३ वर्ष २ महिना यो मुलुकको प्रधानमन्त्रि बन्नुभएका दाहालकै वरपर अहिलेसम्म यो मुलुकको सत्ता घुमेपनी अवभने दुई तिहाई पुर्याउन बाहेक सरकार बनाउन रास्वपालाई प्रतिनिधि सभामा उहाँको आवश्यकता पर्नेछैन ।
यो निर्वाचनले पुराना शक्तिहरुको दम्भ, अहंकार, स्वेच्छाचारीता र विधिविहिनतालाई भत्काएको मात्र छैन, स्ववियु वाहेक अन्त चुनावै लड्न नपाउने कलिला विद्यार्थीहरुलाई सांसद बनाएको छ, दलको शक्ति प्रदर्शन र प्रतिरक्षामा खटिने भर्भराउँदा युवाहरुको छातिमा पनि सांसदको लोगो टाँसिदिएको छ, बन्द हड्ताल भाषण र विचारधाराको संघर्षबाट मात्र नेता बनिन्छ भन्ने मान्यतालाई भत्काएर विश्वविद्यालयका टपर प्रागिक जनशक्तिलाई सत्ताको साँचो सुम्पिएको छ ।
त्यति मात्र होईन आजको ब्यवस्था ल्याउन पुराना दल र नेताले गरेको कठोर संघर्ष, महान त्याग र अविराम पर्खाईलाई विर्सेर बैगुन मात्र संझिदै सत्तोसराप गरिरहेको नयाँ पुस्तालाई मतले मुखबुजो लगाउँदै काँधमा भारी बोकाएको छ, अव विरोधमा मात्र बोल्ने होईन आफै काम गर भन्ने आदेशसहित ।
यो उथलपुथल संगै रास्वपा जनसमर्थनको भारीले अटस मटस बनेको छ, पुराना दलहरु जनताले झुक्याईदिएपछि ईन्तु न चिन्तु बनेका छन्, भने जनताको मनमा शंसय जिवितै छ ।
प्रजातन्त्र स्थापनापछि पहिलो निर्वाचन देखि हालसम्मै मतदान गरेको पुस्ता अझै हामिसंग हुनुहुन्छ । त्यसवेला देखि यसवेला सम्मका जनताका आशा, दलका बाचा र सत्तामा पुगेपछिको कर्म जनताले विर्सेका छैनन् । सुशासन देखि समाजवाद, समृद्धि देखि समुन्नती, रोजगार देखि उद्यम, लोकतान्त्रीक अभ्यासदेखि कानुनी राज्यसम्मका नारा नयाँ लागेर जनताले नयाँ दललाई मतदान गरेका छैनन् । सुन्दा सुन्दा कान पाक्ने तर, कसैले पुरा नगर्नेे भएपछि एकपट हेरौँ नत भनेर मन खोलेरै जनताले यो पटक नयाँ चिन्हमा भारी मतदान गरेका छन् ।
मतदान पनि यसरी गरेका छन्,
अव संख्या पुगेन हजुर भन्नुपर्ने छैन ।
सरकार ढालियो हजुर भन्नुपर्ने छैन ।
षड्यन्त्र भयो पनि भन्नुपर्ने छैन ।
शक्ति कम भयो भन्नुपर्ने छैन् ।
अनि, फलानोले गरेन भनेर अरुलाई भन्न पनि पाईने छैन ।
सक्ता टिकाउने कि नटिकाउने केवल आफैभित्र निहित भएको छ ।
परिणाम दिनुपर्नेछ,
वाचा पुरा गर्नुपर्नेछ,
मत माग्दा केके भनेको गहिरो गरी संझनुपर्नेछ ।
रास्वपाले राम्रोसंग संझिरहहनुपर्दछ, अहिलेका साना दलहरुको हिजो सानो जनमत थिएन ।
नयाँ प्रधानमन्त्रिले संझिरहनुपर्दछ, अहिले पराजित भएका पूर्वप्रधानमन्त्रि हिँजो कम्ता लोकप्रिय नेता हुनुहुन्थेन ।
साना दलहरु काँग्रेस, एमाले, माओवादी लगायतका शक्तिहरु जनताको मुद्धा उठाउने, रचनात्मक प्रतिपक्ष बन्ने र सहि मुद्धामा सरकारलाई सहयोग गर्ने जनादेशबाट चुकेर फेरी पुरानै पारा दोहोर्याउँदै गए भने संझिनुपर्दछः नेमकिपा, राजमो र माले पनि कुनैदिन यो देशका निर्विकल्प राजनीतिक शक्ति दिए जो अहिलेको प्रतिनिधिसभामा अस्तित्वमै छैनन् ।
राजनीतिक शक्ति बदलिएको छ, त्यसैले सबैका चुनौति बदलिएका छन् । जनताको मागबमोजिम आफुलाई नबदलेमा खिईएकाहरु पलाउदै हराभरा हुन र अराभरा भएकाहरु उजाड हुन धेरै समय लाग्नेछैन ।


