केशर सुनार
प्युठान, चैत ४ — प्युठान नगरपालिकाले हलोगोरु पाल्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको कार्यालय, बिजुवार प्युठानले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत उक्त अनुदान कार्यक्रम सञ्चालन गर्न सूचना जारी गरेको हो।
नगरपालिकाले “हलोगोरु पाल्ने किसानलाई उपलब्ध गराइने अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८२” बमोजिम इच्छुक पशुपालक कृषकहरूबाट निवेदन आह्वान गरेको जनाएको छ। सूचनाअनुसार प्रकाशन मितिले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।
अनुदान प्राप्त गर्न चाहने कृषकहरूले अनुसूची–१ अनुसार निवेदन दिनुपर्नेछ। साथै निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै पनि सरकारी कार्यालयबाट हालसम्म त्यस्तो अनुदान नलिएको स्वघोषणा पत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र तथा हलोगोरुसहित सेवाग्राहीको एक प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
नगरपालिकाले यो कार्यक्रममार्फत हलोगोरु पालन गर्ने किसानलाई प्रोत्साहन मिल्ने विश्वास लिएको छ। थप जानकारीका लागि प्युठान नगरपालिकाको पशु सेवा शाखा, बिजुवारमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


