शशिधर भण्डारी
प्युठान, प्युठान नगरपालिका–६ खोलीगाउँ देखि झुलेनी पर्यटकीय स्थलमा पुग्ने क्रममा चउरमा संरक्षण गरेर उभ्याइएको ठाडो ढुङ्गा भेटिन्छ । देख्ने जो कोहीलाई पनि खुलदुली लाग्छ‘यो ढुंङ्गा किन, कसरी र कस्ले राख्यो ?’ भन्ने । यो ढुङ्गाको इतिहास जान्न चाहनेले आफ्नो उत्तर पाउन नसकेको स्थानीयले बताउछन् ।
प्युठान नगरपालिका–६ माझकोट ठाडीढुङ्गा स्थित ठडाएर गाडिएको ६ फिट लामो ढुङ्गालाई राज्य सञ्चालनमा लागि थुमहरुमा विभाजित समयमा भित्रिकोट थुम र नारिकोट थुमको सिमास्तम्भ जुन सात दिनको सुत्केरीले ठडाएको हो भन्ने लोकोक्ति रहेको स्थानीय खेतुलाल भण्डारीले बताउनु भयो । भण्डारीले भन्नुभयो “म जान्ने हुँदा देखि नै यो ढुंगा छ, ढुङ्गाको इतिहास बाइसे चौबिसे राज्यका समय देखिको बुबा,बाजेहरुले बताउनुहुन्थ्यो, तत्कालिन समयमा थुममा विभाजित राज्यहरुको सीमा स्तम्भ रहेको लोकोक्ती छ, यसलाई ठड्याउने काम सात दिनको सुत्केरी महिलाले गरेको भनिन्छ ।” ठाडो ढुङ्गाको संरक्षण प्युठान नगरपालिकाले गरेको छ ।
भण्डारीका अनुसार हाल उक्त ठाउँलाई ठाटीढुङ्गा भनिनु पनि ढुङ्गा गाडेर ठाडो बनाइएकोले ठाडीढुङ्गा भन्दा भन्दै ठाटीढुङ्गा भन्न थालिएको हो ।
इतिहास तथा संस्कृत जानकार डा. गितु गिरीले सीमा स्तम्भको विषयमा थुपहरुको अध्ययन नभइसकेकोले यसको इतिहास यसै भन्न नसकिने जानकारी दिनुभयो । गिरीले भन्नु भयो, “जनश्रुती÷लोकोक्तिहरु पाइएपनि थुमहरुको अध्ययन तथा अनुसन्धान पछि मात्रै भन्न सकिएला, थुमहरुको अध्ययन भइरहेको छ, अध्ययन पछि केही आधारहरु भेटिएपछि मात्रै सीमास्तम्भ हो या होइन भनेर एकिन गर्न सकिएला ।”