केशर सुनार
प्युठान,वैशाख १३(जनखोजी):राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्युठानको दोस्रो अधिवेशन वैशाख १५ गते हुने भएको छ।संघले बिहिवार प्युठान नगरपालिका-३ जुम्रीस्थित विजय फूलबारी साकोसको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि जिल्लास्थित कृयाशिल पत्रकारहरुलाई जानकारी गराएको हो।
अधिवेशनमा,दलितका कला, सिपसंग जोडिएका बस्तु प्रदर्शनी गर्ने,बिहान मिडियामा दलितको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रमहरु गरिने अध्यक्ष सुनारले बताए।
जातीय भेदभाव र छुवाछुत विषयक अन्तरक्रियाको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई वक्ताको रुपमा बोलाईएको छ।राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी,दलित अधिकारकर्मी उमादेवी वादी,लुम्बिनी प्रदेश सांसद निमा गिरी,दलित अधिकारकर्मी खगेन्द्र सुनार,डा.निर्मल विश्वकर्मा,गोरखापत्रका उपसम्पादक एवं लेखक लक्ष्मण दर्नाल र दलित अधिकारकर्मी राधा नेपाली लगायतका वक्ताहरु उपस्थित रहने अध्यक्ष सुनारले जानकारी दिए।
अधिवेशनको कार्यक्रमस्थलमा चेतनामूलक साँस्कृतिक कार्यक्रम सहित प्यूठानमा दलितहरुले परम्परागत रुपमा पेशागत रुपमा अँगाल्दै आएका फलाम, धातुजन्य सामग्री, बाजाहरु, प्यूठानका बाघमुखे चुलेसी, काष्ठकलाहरु प्रदर्शनमा राखिने छ।प्रदशनीका सहजीकरणका लागि संघका सदस्य प्रेमबहादुर विश्वकर्मालाई जिम्मेवारी दिईएको अध्यक्ष सुनारले बताए।
नेपालको दलित आन्दोलनमा भएका कुराहरु लिपिबद्ध गर्दै दलितका हराउँदै गएका मौलिक सिप र कलालाई संचार क्षेत्रमा उठाउन अधिबेशनले सहयोग गर्ने अपेक्षा गरिएको छ। अधिवेशनलाई भव्य बनाउन आफुहरु तिव्र तयारीमा जुटेको उनले बताए।
शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा उपस्थित पत्रकारहरुलाई संघका उपाध्यक्ष कमल बिकले स्वागत मन्तव्यद्वारा स्वागत गरेका हुन।कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाल,प्युठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकोटा,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गिरु भण्डारी,सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का उपाध्यक्ष भुवन सिंह,संघका पदाधिकारी एवम् सदस्यहरु लगायत जिल्लास्थित २५ जना बढी क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको संघका सचीव बोमबहादुर परियारले बताए।