प्युठान ३२ असार (जनखाेजी) माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यहरुको स्थानीयकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत बुधवार र बिहिवार २ दिने अभिमुखिकरण तथा क्षेमता विकास कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले माण्डवी गाउँपालिकाले आफ्ना योजनाहरुलाई दिगो, प्रभावकारी र जनताको आवश्यकताको आधारमा अगाडि वढाउने लक्ष्य लिएको वताउनु भयो ।
दिगो विकासका लागि नेपालले तय गरेका सूचक हासिल गर्न स्थानीय तहवाटै त्यसको कार्यन्वयनको आवश्यकता रहेकाले माण्डवी गाउँपालिकाले स्थानीयकरणका लागि पहल थालेको अध्यक्ष अधिकारीले वताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले नीति तथा कार्यक्रम र वजेट वनाउने क्रममा दिगो विकासका लक्ष्यहरुलाई कसरी समावेश गर्न सकिन्छ भनेर क्षेमता अभिवृद्धिका लागि गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको वताउनु भयो । कार्यक्रमको सहजिकरण सरोकार सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गरेको थियो ।