बबिता रिजाल, असार १ प्युठान । स्वर्गद्वारी नगरपालिकामा सामुदायिक बिद्यालयहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धि २ दिने कस्टमाइज्ड तालिम सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाले यस बर्ष आफ्नो स्थानीय पाठ्यक्रम तयार पारेको छ । आर्थिक बर्ष २०८०÷०८१ को कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण योजना राखेको थियो ।
सामाजिक विकास समिति संयोजक गिर बहादुर घर्ती मगरको संयोजकत्वमा स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन भएको थियो भने विज्ञ को रुपमा सहसचिव महेन्द्र पराजुली हुनुहुन्थ्यो ।
स्थानीय पाठ्यक्रम सम्बन्धि २ दिने कस्टमाइज्ड तालिमको २०८१ जेष्ठ ३२ गते उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज रानाले स्वर्गद्वारी नगरपालिका शिक्षा क्षेत्रलाई बिशेष महत्त्व दिई अगाडि बढेको र जनप्रतिनिधि, विव्यस, शिक्षक र अभिभावक जिम्मेवार भए शैक्षिक गुणस्तर बढाउन सकिने बताउनुभएको थियो ।
असार १ गत शनिवार दुइ दिने तालिम समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि बजेट व्यवस्थापन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोहि कार्यक्रममा आफ्नो भनाई राख्दै स्वर्गद्वारी नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक, समाजिक बिकास समितिका संयोजक तथा वडा नं ५ को अध्यक्ष गिर बहादुर घर्ती मगरले हामी निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रका थुप्रै निति कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो “स्थानीय पाठ्यक्रमले हाम्रो मौलिक पहिचान, परम्परागत ज्ञान सीप, सुचना प्रविधिको उपयोग, व्यवहारीक जीवनको उपयोगी गतिशील छ र स्वर्गद्वारी वासी हुनुमा गर्व गर्न लाएक नागरिक तयार गर्ने खालको पाठ्यक्रम निर्माण गरेका छौँ । ”