अनुज पछाई
प्युठान, लगातार वर्षातका कारण प्युठानको झिमरुक फाँटमा भित्र्याउन थालेको धानवालीमा क्षति पुगेको छ । आइतवार देखि परेको वर्षाका कारण धानबाली नोक्सानी भएवपछि यहाँका कृषकहरु चिन्तित छन् ।
प्युठान नगरपालिकामा पर्ने झिमरुक फाँटमा दशैंको टिका लगत्तै धान काट्ने भित्र्याउने थालेको समयमा लगातार झरी परेपछि क्षति भोग्नु परेको प्युठान नगरपालिका–३ का किसान बन्धु सुनारले बताइन् । भित्र्याउनका लागि काटेको धान झरीले डुवेपछि विग्रने चिन्ता लागेको उनको भनाइ छ । ‘पानीले काटिसकेका धान खेतमै डुबेका छन्’–सुनारले भनिन्‘धानसंगै तरकारीवालीमा समेत समस्या उत्पन्न हुँदा समस्या भएको छ ।’ काटिसकेपछि सुकाएर भित्र्याउन ठिक्क पारेको धानवाली पानीले भिजाउँदा उम्रने जोखिम बढ्दा किसानहरु निरास छन् ।
स्थानीयका अनुसार पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । वर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको उनीहरुको भनाई छ ।
भिजेको धान कुटाई गर्दा काटिने ,कनिका पर्ने, स्वाद गनाउने हुने पराल पनि बिग्रने हुदा धान तथा परालको मूल्य नपाउने समस्या बढ्ने चिन्ता प्यूठान नगरपालिका ४ बिजुवारका किसान केशब प्रसाद भण्डारीलाई छ । लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । प्यूठान जिल्लाको झिमरुक फाटमा धानको उत्पादन धेरै हुने भएपनि यो वर्ष उत्पादन भन्दा नोक्सानी धेरै हुने देखिएको अगुवा किसानहरू बताउँछन् । पानी अझै केही दिन पर्ने मौषम पूर्वानुमान शाखाको भनाइको सूचनाहरु आएका कारण धानमा नोक्सानी हुने क्रम बढ्ने कृषि विज्ञहरुले जनाएका छन्