जनखोजी संवाददाता
प्युठान, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय प्यूठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ । उनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा जागिर शुरु गरेर पछि वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको अख्तियारले जनाएको छ ।
बुढाथाेकीविरुद्ध आज बिहीवार विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।