केशर सुनार
प्युठान, ८ जेठ। मनसुनजन्य विपद्का समयमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्युठानको माडीखोलामा संयुक्त अभ्यास (सिमुलेशन एक्सरसाइज) सम्पन्न भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति प्युठानको नेतृत्वमा माण्डवी गाउँपालिका–५ स्थित माडीखोलाको बगरमा “मनसुनजन्य विपद् प्रतिकार्य” सम्बन्धी उक्त अभ्यास गरिएको हो।
विपदको समयमा सुरक्षा निकाय र सरोकारवालाहरूबीच आपसी समन्वय चुस्त राख्न आयोजित यस कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीका साथै नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। अभ्यासका क्रममा बाढी तथा डुबानमा परेका नागरिकहरूको तत्काल कसरी उद्धार गर्ने र प्राथमिक उपचार कसरी उपलब्ध गराउने भन्नेबारे कृत्रिम घटना प्रदर्शन (मकट्रिल) गरिएको थियो।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जी.सी. प्रमुख अतिथि र माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा बर्द बहादुर गणका गणपति प्रमुख सेनानी महेश बाबु कार्की, प्रहरी नायव उपरीक्षक नरहरी अधिकारी र सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माको उपस्थिति रहेको थियो। यस्तै, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र स्थानीय विद्यार्थीहरूको समेत ठूलो संख्यामा उपस्थिति रहेको थियो।
सरोकारवालाहरूले मनसुन सुरु हुनुअगावै गरिएको यस्तो पूर्वतयारीले वास्तविक विपदको समयमा मानवीय र भौतिक क्षति कम गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
तस्विरहरु हेर्नुहोस् :



