नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नेता नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।
माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनिसकेका छन् ।
योसँगै माओवादीले अहिलेसम्मकै समावेशी र कामकाजी व्यक्तिहरुलाई मन्त्रीमा चयन गरेको छ । माओवादीले मन्त्री र राज्यमन्त्रीमा छ जना पाएकोमा ठीक पचास प्रतिशत अर्थात आधा महिलालाई पठाएको छ । फम्फा भुसाल, शशी श्रेष्ठ र बोधमाया यादव तीन जनाले देउवा मन्त्रिपरिषद्मा सशक्त महिला उपस्थिति देखाउने छन् ।
सिफारिस गरिएका बाग्लुङका देबेन्द्र पौडेल अहिलेसम्म मन्त्री बनेका थिएनन् । उनलाई पहिलोपटक अवसर दिइएको छ । त्यस्तै जन्मघर रुकुम भइ हाल बाँकेमा स्थापित महेश्वर गहतराज जनयुद्धकालमा बाँके बर्दिया इञ्चार्जलगायत विभिन्न जिम्मेवारी निर्वाह गरी सकेका पश्चिम नेपालका माओवादी खम्बा मानिन्छन् । उनले दलित समुदायको समेत प्रतिनिधित्व गर्दछन् ।
उपत्यकामा स्थापित शशि श्रेष्ठ अहिले संसदीय समिति सभापतिको जिम्मामा रहेकी थिइन् । माओवादीमा उनी महत्वपूर्ण महिला नेताको रुपमा स्थापित छिन् । धनुषाकी बोधमाया यादव सहिद रामबृक्ष यादवकी छोरी हुन्। मधेशी महिलाको तर्फबाट प्रतिनिधित्व गर्ने बोधमाया सहिद सन्तति हुन् ।त्यसो त महेश्वराज गहतराज पनि सहिद परिवारकै सदस्य हुन् । उनका भाइलगायत धेरै आफन्तहरु जनयुद्धका सहिद भएका छन् ।