4 फाल्गुन २०७८, बुधबार
काठमाडौं। नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो।
बैठकले सरकारले जबरजस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय पनि गरेको छ। बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको जानकारी दिए।
‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ,’ गुरुङले भने। सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएको छ नि भन्ने जिज्ञासामा उनले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभई पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो। त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन।’
प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव समावेश छैन। यद्यपि आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस हुने चर्चा छ।