संस्कृति हराउने अग्रजको चिन्ता
प्युठान,
तीजको समयमा चार्डकै रुपमा मानेर हाल्ने पिङको चलन लोप हुन थालेको छ । जिल्लाका गाउँ बस्तीका टोलटोलमा हालेर खेलिने पिङ लोप हुँदै गएको हो । तीजमा व्रत बसी पुजाआजा सम्पन्न गरे नाँचगान गर्दै पिङ खेलेर रमाउने संस्कृति बनेको थियो । हिन्दु धर्म संस्कृति अनुसार वर्षको एक दिन धर्ति छाड्नु पर्दछ भन्ने मान्यताका साथ पिङ खेल्ने चलन विगतमा थियो । तर आधुनिक जीवनशैलीसँगै परम्परागत संस्कृति विस्तारै हराउँदै गएका छन् । तीज आउनै लाग्दा युवाहरु सरसल्लाह गरेर हालिने पिङ हाल्न छोडिएको हो । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा युवा व्यक्तिले चासो नदेखाएको लोपोन्मुख हुन लागेको बिश्लेषण गर्न सकिन्छ । काठैकाठले बनेको रोटे(चर्खे) पिङ, चौतारीहरुमा हालिने पिङ पछिल्लो समय युवा पलायतासंगै पलायन हुने अवस्थामा पुगेको स्थानीयहरुले बताउन थालेका छन् । दशक अघिसम्म चाडपर्वमा गाउँघरका सबै मिलेर रोटे (चर्खे) पिङ बनाउँथे । काठैकाठले बनाइने यस्ता पिङ टोलैपिच्छे देखिन्थे । साथीसंगी भेट्ने थलो पनि पिङ नै हुन्थ्यो । पछिल्ला १० वर्षयता भने त्यस्तो पिङ खेल्न त परको कुरा, देखिन समेत छोडेको प्युठानको सरुमारानी –३ हंसपुरका लाल बहादुर गुरुङले बताए । उनले भने, ‘१५–१६ वर्षअघि सम्म छ्यापछ्याप्ती खेल्न पाइन्थ्यो ,‘अहिले त पिङ राख्न छाडिसके ।’ युवा पुस्ता गाउँमा नबस्नु र परम्परा बिर्संदै गएपछि अहिले यस्तो पिङ देख्नसमेत मुस्किल भएको गुरुङले बताए । विगतमा जिल्लाका सबैजसो स्थानमा रोटे (चर्खे) पिङ बनाउने चलन रहे पनि पछिल्लो समय जिल्लाको एकाध ठाउँमा मात्रै यस्तो पिङ देख्न पाइन्छ । नौबहिनी –१ स्याउंलिबाङका जेम्स मगरले प्युठानमा विगतमा तीजमा हालिएको पिङ तिहारसम्म राख्ने चलन थियो । तर, पछिल्लो समयमा वाव्युले बाटेका पिङ पनि लोप हुँदै गइरहेको बताए । परम्परागत संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।